Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिचान पक्षधरको विराटनगरमा प्रदर्शन, ३१ जना पक्राउ

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०८०, आइतबार
पहिचान पक्षधरको विराटनगरमा प्रदर्शन, ३१ जना पक्राउ

विराटतनगरः कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने ३१ भन्दा बढी पक्राउ परेका छन् ।
विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोशी प्रदेशमा आज (आइतबार) देखि बजेट अधिवेशन सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दैछ ।
बैठकअघि कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश–१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजेदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागू गरेको छ ।
निषेधाज्ञा तोडेर प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । उनका अनुसार निषेधित क्षेत्रमा सभा, जुलुस, भेला, रयाली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।
प्रदेश सभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।
आइतबार विराटनगरस्थित प्रदेश सभाभवन आसपासमा आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
बजेट अधिवेशनमा सहभागी हुन आउने प्रदेश सभासदस्यहरुलाई रोक लगाउने पूर्व निर्धारित विरोध कार्यक्रमअन्तर्गत पहिचान पक्षधरहरू विराटनगरका विभिन्न स्थानमा भेला हुने क्रम जारी रहेको छ । उनीहरूले गत वर्ष फागुन १७ गते प्रदेश सरकारले राखेको प्रदेशको नाम कोशीकोविरुद्ध असन्तुष्टी जाहेर गर्दै आएका छन् ।
पहिचान पक्षधरबाट किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले शान्तपूर्वक गरिएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेको बताए । प्रहरीका अनुसार प्रशासनले राखेको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पहिचान पक्षधरका नेता थाङ्साङ लावती, दीपा आदाङ्मालगायत रहेका छन् ।
हाल निषेधित क्षेत्रमा सुरक्षाकर्मीसहित सुरक्षा अवस्था कडा बनाइएको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend