Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा मौसम बदली, गर्मी घट्दै जाने, पानी पर्ने सम्भावना

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०८०, शनिबार
कोशी प्रदेशमा मौसम बदली, गर्मी घट्दै जाने, पानी पर्ने सम्भावना

धरानः देशको कोशी प्रदेशमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र कोशी प्रदेशको तापक्रम केही घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केहीदिन गर्मी बढ्ने सम्भावना छ । कोशी प्रदेशमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी बिस्तारै घट्दै जाने उनको भनाइ छ । तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिबिधि बढ्न सक्ने उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा पनि हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी नपर्दा र मनसुनी गतिबिधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ ।
बिहीबार देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ ।
विभागका अनुसार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: जेष्ठ २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend