धरानः सोमबार देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षासँगै देशको पूर्वी क्षेत्रमा तापक्रम केही कम हुँदै गएको मौसमविद् प्रधानांगले बताए ।
‘देशको पूर्वी क्षेत्रमा तापक्रम घटेको छ’, उनले भने, ‘अझै मध्य र पश्चिम क्षेत्रमा भने तापक्रम यथावत् छ ।’ उनका अनुसार मौसम बदली र वर्षा हुने क्रम बढेकाले अब अन्य क्षेत्रमा पनि क्रमशः तापक्रम कम हुँदै जानेछ ।