Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा बाढीको वितण्डा, एकजनाको शव भेटियो, २६ जना बेपत्ता, ११ वटा बढी घर बगायो

हाम्रो कोशी आवाज
असार ३ २०८०, आइतबार
कोशी प्रदेशमा बाढीको वितण्डा, एकजनाको शव भेटियो, २६ जना बेपत्ता, ११ वटा बढी घर बगायो

संखुवासभाः संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।
चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
शनिबार राति आएको बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एकजनाको शव भेटिएको उनले जानकारी दिए । भेटिएको शवको पहिचान हुन बाँकी रहेको छ ।
बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पुग्नुका साथै त्यहाँ काम गर्ने १७ जना मजदुर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजी कार्य शुरु भएको जिल्ला प्रहरी कार्यायले जनाएको छ ।

चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको बीचमा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको प्रहरीले जनाएको छ । बाढी खोला किनारमा रहेको ७ भन्दा बढी घर बगाएको स्थानीले जनाएका छन् ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ७ घर बगाएको छ । हेंवा र पिलुवा खोलामा आएको बाढीका कारण भएको क्षतिको थप बिवरण आउँन बाँकी छ ।
‘निर्माणाधीन हाइड्रोमा १९ जना कार्यरत थिए, १६ जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार भएको छ,’ डीएसपी गोदारले भने, ‘अरुको अवस्था थाहा हुनसकेको छैन ।’ उद्धार गरिएका तीनजनालाई उपचारका लागि चैनपुर लगिएको छ ।

वर्षायामको सुरुवातमै देशको पूर्वी क्षेत्रमा बाढी र पहिरोले जनधनको व्यापक क्षति गरेको छ।
अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभा, पाँचथर र ताप्लेजुङमा गरी २६ जना बेपत्ता भएका छन् भने एकजनाको शव भेटिएको छ।
राससका संखुवासभा संवाददाता भविन कार्कीका अनुसार त्यस जिल्लामा गएराति आएको बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन्।
यस्तै बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको भने शव फेला परेको छ। पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको शव पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ।
घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता भएका छन्।

पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरका अनुसार बाढीले बगाउँदा जिल्लाका हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता भएका हुन्।
यस्तै बाढीले हेवा खोलामा रहेका तीनवटा पक्की पुल र एउटा झोलुंगे पुल पनि बगाएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए। ‘जसले गर्दा मेची राजमार्ग अवरुद्ध छ भने उता भेडेटार निस्किने सडक पनि बन्द भएको छ’, उनले भने।
यस्तै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन्। स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएको राससले जनाएको छ।
यस्तै मेहेलेकै भरत तामाङ पनि बेपत्ता भएका छन्। खोला छेउमा घर भएका तामाङ ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ।
घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए। मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ। यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पहिराले बगाएको छ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन्। बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ। मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन्।

 

प्रकाशित मिति: असार ३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend