ताप्लेजुङः ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ ।
एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उनका छोरा सुरेश राईको ज्यान गएको हो । यस्तै, राजकुमार राई घाइते हुनुभएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
पहिरोमा बेपत्ता हुनुभएका केशरबहादुर मृत भेटिएको र घाइते भएका सुरेशको उपचार लागि लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मेहेलेमा शनिवार बेलुकादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । यहाँका प्रायजसो सबै स्थानीय आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँमा पनि वर्षा भइरहेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् । ताप्लेजुङको मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । मेहेलेमा मात्रै पहिरोले छ वटा घरमा पूर्णरुपमा क्षति पुरयाएको छ ।