धरानः धरानमा विश्व योग दिवस मनाइएको छ ।
दिवसका अवसरमा धरान–१३ स्थित भारतीय पेन्सन पेइङ कार्यालयमा योग दिवस मनाइएको हो । द आर्ट अफ लिभिङ धरानले सो कार्यक्रम अयोजना गरेको हो । योग प्रशिक्षक बृद्धिचन्द्र अग्रवालको अगुवाइमा योग अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । योग अभ्यासमा कार्यालयका मेजर भरत कनौजियाका साथै अन्य कर्मचारीहरु गरी करिब २५ जनाको सहभागिता रहेको थियो । लगायतको टिमले योग अभ्यासको लाभ लिएका छन् । कार्यक्रममा योग अभ्यासमा प्रणायाम, ध्यान तथा योग प्रक्रियाका सूत्रहरु सिकाइएको छ ।
धरानका प्रमुख मेजर कनौजिया मानिसको जीवनमा आफ्नो कुनैपनि कार्यक्षेत्रमा कार्यरत रहँदा योग विधाको नियमित अभ्यास गरेर आफ्नो कार्य क्षेत्रमा लागेमा थप उर्जा मिल्ने बताउँदै भने, ‘मानिसले कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसँगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा रहने हुँदा पनि हाम्रो जीवनमा शान्ति पाउनका लागि पनि योगको महत्वपूर्ण छ ।’ उनले द आर्ट अफ लिभिङ धरानका प्रमुख प्रशिक्षक अग्रवाल र सहयोगी भरतराज शर्मालाई धन्यवाद दिएर मायाको चिनो समेत प्रदान गरेका थिए ।
विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाइन्छ । सन् २०१४ बाट मनाउन शुरु गरिएको योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिइन्छ । योग दिवसको यो सुत्र संयुक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी विकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । योगको बारेमा व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समुदायले बुझिसकेको छ भने आधुनिक चिकित्सा पद्दतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्म नियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिनाले होला संसारभरी नै आजको दिनलाई योग दिवसको रुपमा मनाउने चलन रहेको छ ।
आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्म सम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय हो ।
तस्वीरः लक्ष्मण थापा






