मोरङः मोरङमा बुलेट बाइक दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको सुन्दरहरैंचा– ५ का ४५ वर्षीय शिवनाथ आचार्य रहेको प्रहरीले जनाएको छ । बिहीबार राति प्रदेश–१ ०२–०५० प ८०८४ नम्बरको बुलेट बाइक पैनीमा खस्न पुगेको थियो । पैनीमा बाइकसहित खसेका उनको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उता झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा बसको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।
मे.१ख १५१८ नम्वरको यात्रुबाहक बसले ठक्कर दिँदा स्थानीय कमल थापाको ५ वर्षीय छोरा जनम चौधरी घाइते भएका थिए । घाइते चौधरीलाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । ठक्कर दिने बस र चालक कमल गाउँपालिका–२ का शम्भु साहलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।