Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वमा किसानले बढाउँदैछन् व्यवसायिक केरा खेती

हाम्रो कोशी आवाज
असार ११ २०८०, सोमबार
पूर्वमा किसानले बढाउँदैछन् व्यवसायिक केरा खेती

धरान: उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा १ हजार ८ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ।
किसानले १ कट्ठादेखि २ सय ५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै आइरहेको उनको भनाइ छ।
उनले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताए। जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यावसायिक खेती भइरहेको छ।
यहाँका किसानले सुरुमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा किसानले जी(नाइन जातका केरा लगाउन थालेका छन्।
गणपति एग्रीकल्चर कृषि फार्मले भद्रपुर नगरपालिका ४ र गौरीगञ्ज गाउँपालिका ५ मा गरी ४१ बिघा जमिनमा जीनाइन जातको व्यावसायिक केरा खेती सुरु गरेको छ। भद्रपुरमा भद्रपुर गौशालाको १६ र गौरीगञ्जमा स्थानीय किसानको ५७ बिघा जमिन भाडामा लिएर फार्मले २ करोडको लागतमा केरा खेती सुरु गरेको जनाएको छ।
फार्मका अध्यक्ष वासुदेव उप्रेतीले सुरुमा वीरगञ्ज र अहिले बुद्धशान्ति गाउँपालिकाको खुदुनाबारी, गौरादह नगरपालिकाको नर्सरीबाट टिष्यु कल्चरद्वारा उत्पादित केराको बिरुवा ल्याएर रोपण गरिएको बताए।
प्रतिगोटा ३० का दरले खरिद गरी भद्रपुरमा ३० हजार र गौरीगञ्जमा ४० हजार जीनाइन जातका केराको बिरुवा लगाएको उनको भनाइ छ।
९ महिनाअघि भद्रपुरमा १६ बिघा जमिनमा लगाएको बिरुवाको प्रत्येक बोटमा केरा पसाएको छ। उनले सो केरा दसैँ तिहारमा निकाल्ने तयारी रहेको बताए। स्थानीय गौशालाबाट गोबर मल खरिद गरेर केरामा हाल्दै आएको बताए।
‘हामीले ८० प्रतिशत प्रांगारिक मलको प्रयोग गरेका छौं। बीस प्रतिशत मात्र युरिया, डिएपी र पोटास मलको प्रयोग गर्छौं,’ उनले भने।
५ जना युवा मिलेर केराको व्यावसायिक खेती गर्दै आएको उनले बताए। उनले गौरीगञ्जमा २ महिना अघि मात्र २५ बिघा जमिनमा ४० हजार विरुवा रोपण गरेको बताए। उनले बाँकी रहेको ३२ बिघा जमिनमै केराको व्यवासायिक खेती गरिने बताए।
‘केरा खेतीमा व्यावसायिक ज्ञान र दक्ष प्राविधिक नहुँदा समस्या हुँदोरहेछ,’ उनले भने, ‘विज्ञलाई सोध्दै र अन्य किसानसँगको अनुभवको आधारमा खेती गरिरहेका छौं।’ उन्नत प्रजातिको केरा भएका कारण बजारीकरणमा समस्या नहोला भन्ने आसा रहेको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवाकोटीले झन्झटिलो र खर्चिलो धान खेतीको विकल्पको रुपमा किसानले केराको खेती लगाउन थालेको बताए। उनले ज्ञान केन्द्रले हाल जिल्लामा २वटा केराको ब्लक सञ्चालन गरिरहेको बताए।
यसैगरी, जिल्लामै पहिलोपटक रातो केराको खेती गर्दै आउनुभएका झापा गाउँपालिका चन्द्र बस्नेतलाई १ लाख राशिको पुरस्कारबाट हालै सम्मान गरिएको छ। बस्नेतलाई नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी पुस्कृत गरेको हो।
बस्नेत युथ एग्री अवार्ड ०७९ बाट सम्मानति भएका छन्। इजरालबाट फर्केर ४ वर्ष अघिदेखि उनले २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जीनाइन र रातो केराको खेती गर्दै आएका छन्।

प्रकाशित मिति: असार ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend