Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डेंगुले युवाको मृत्यु, प्रकोप तीब्र गतिमा फैलिँदो

हाम्रो कोशी आवाज
असार १७ २०८०, आइतबार
धरानमा डेंगुले युवाको मृत्यु, प्रकोप तीब्र गतिमा फैलिँदो

धरानः धरानमा वर्षायामसँगै डेगुको संक्रमण बढ्न थालेको छ भने एकजना संक्रमितको मृत्यु समेत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो । महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल धरानमा डेंगु संक्रमितको संख्या बढिरहेको छ । उनका अनुसार पछिल्लो समय धरानमा ७५ जना बढीमा डेंगु पुष्टि भएको छ ।
‘अहिले धरानमा अलि बढी डेंगुका बिरामी देखिन थालेको छ, एक जना संक्रमितको मृत्यु समेत भएको पुष्टि भएको छ, संक्रमण बढ्दै जाँदा स्थानीय तहसँग समन्वय गरेर संक्रमण नियन्त्रण कार्यसमेत भइरहेको छ’, डा. दाहालले बताएका छन् ।
धरान मात्रै होइन बिस्तारै देशका अन्य जिल्लाहरूबाट डेंगुका केशहरू रिपोटिङको संख्या बढेको छ । यो वर्ष मात्रै हालसम्म देशभर एक हजार २४ वटा डेंगुको बिरामी रिपोटिङ भइसकेको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा.दाहालको भनाइ रहेको छ ।
‘सामान्यतः डेंगु असारदेखि कात्तिकसम्म तीव्र गतिमा बढ्ने गर्छ, वर्षातको मौसम पनि सुरु भएको छ भने संक्रमितको संख्या पनि विस्तारै उकालो लाग्दै छ । यस्तो अवस्थामा आफ्नो घर वरपर सफा राख्नुपर्छ’, डा दाहालले भने ।
पछिल्ला वर्षहरूमा वर्षातको मौसममा डेंगु संक्रमण जनस्वास्थ्यको समस्याको रुपमा देखिँदै आएको छ । यसैबीच मन्त्रालयले गाडी मर्मत गर्ने वर्कशपका सञ्चालकहरूसँग समेत छलफल गर्ने गरेको छ । पानी परेपछि वर्कशपमा रहेका धेरै टायरमा पानी जम्ने र त्यहीँ लामखुट्टेले लार्भा बनाएपछि लामखुट्टे फैलने हुँदा डेंगुको जोखिम बढ्छ । त्यसलाई कम गर्न पनि वर्कशप सञ्चालकहरूसँग समेत छलफल गर्न लागिएको महाशाखाले जनाएको छ ।
डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ । मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ ।
यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने,साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: असार १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend