स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिए
धरानः जीपी जयन्तिको अवसरमा नेपाली कांग्रेसका अगुवा नेताले धरानका हिन्दू, बौद्ध, इसाई, इस्लामिक धार्मिक स्थलमा सफाई कार्यक्रम गरेका छन् ।
नेपाली कांग्रेस प्रतिनिधिसभा, प्रदेशसभा, सुनसरी क्षेत्र नम्बर १ (१) र १(२) को आगामी असार २९ र ३० गते हुने सम्मेलनको पूर्व सन्ध्याको अवसरमा प्रचार–प्रसारस्वरुप पार्टीको निर्धारित विविध अतिरिक्त क्रियाकलापअन्तर्गत स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औ जन्म जयन्तीको अवसरलाई पनि सदुपयोग गर्दै धरानका चार धार्मिक स्थलहरुमा टोलीले सरसफाई गरेको हो ।
कार्यक्रमका संयोजक युवराज शंकरका अनुसार सो सरसफाइ बिहान ७ बजेदेखि धरान वडा–१४ स्थित पिण्डेश्वर बाबाधामबाट सरसफाइ शुरु गरी धरान– ३ स्थित मस्जिद, धरान– ८ स्थित श्री हिमालय महायान रिन्छेन छ्योलिङ बौद्ध गुम्बा र धरान–१५ स्थित अनुग्रह चर्चमा सरसफाइ गरी समापन गरिएको थियोे ।
सरसफाईको औपचारिक समापन कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा सुनसरी क्षेत्र नम्बर १ का सभापति सुजेन्द्र तामाङ गोलेले भने, ‘वर्तमान अवस्थामा नेपाल एक धार्मिक निरपेक्ष राष्ट्र रहेको र नेपाली ‘धार्मिक स्वतन्त्रता चाहने पार्टी नेपाली कांग्रेस पार्टीको सिद्धान्त पनि धार्मिक स्वतन्त्रता नै हो, सबै धर्मप्रति पार्टीको दृष्टिकोण समान र व्यवहारमा पनि समान गर्छ र सबै धर्मले सम्मानपूर्वक यो राज्यमा फल्न र फुल्न पाउनुपर्छ भन्ने सन्देश दिनको लागि पनि हामीले चार वटा धार्मिकस्थलहरुमा सफाई कार्यक्रम गरेका हौं ।’
कार्यक्रममा धरान–१५ स्थित अनुग्रह चर्चका पाष्टर पर्शुराम गुरुङले विभिन्न धार्मिकस्थलको सरसफाइ सह्रानीय कार्य भएको बताउँदै पार्टीले यस्ता सफाइ अभियान मात्र चलाएर कुनै अर्थ नभई पार्टीको केन्द्रीय नेतृत्वहरुदेखि कार्यकर्ताहरुमा आफ्नो आत्माशुद्ध र आचरणको शुद्धीकरणसँगै पार्टीभित्रको फोहोर पनि सफाइ गर्न आवश्यक रहेको बताए ।
सफाई कार्यक्रमको समापनमा नेपाली कांग्रेसका १ नम्बर प्रदेशका महामन्त्री उमेश थापाले राम्रो काम गर्न सफल भएको भन्दै उपस्थित सबैलाई धन्यवाद दिए । सफाइ कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य ममता तामाङ, नेकाका धरान नगरका पूर्व सभापति किशोर राई, सुनसरी क्षेत्र नम्बर १( १)का सभापति अनिल श्रेष्ठ, धरान वडा नम्बर ३ का वडाध्यक्ष विद्या शाक्य, वडा नम्बर ७ का महिला वडासदस्य रमिता श्रेष्ठ, वडा नम्बर२ का वडासदस्य सन्ध्या श्रेष्ठ, नेकाका महासमिति सदस्य अजय राई, सुवास राई, शत्रुघन अन्सारी र चन्द्रशेखर लामा लगायतकाको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा क्षेत्रीय सम्मेलनको अवसरमा पार्टीले असार १९ गते अमर सेवा समाजको हलमा ब्याडमिन्टन प्रतियोगिता राखेको छ । यस्तै, असार २० गते धरान रंगशालामा पत्रकार र पार्टीबीच मैत्रीपूर्ण फुटबल राखेको छ । यस्तै, बराहक्षेत्रको कालाबञ्जारमा असार २१ गते डोरीतान प्रतियोगिता स्थानीय सभा हलमा राखेको छ । असार २२ गते धरानको भानुचोकमा दौड प्रतियोगिता राखेको छ भने असार २९ र ३० गते प्रतिनिधिसभा र प्रदेश सभा सुनसरी क्षेत्र न. १ (क) र १ (ख) को संयुक्त सम्मेलन कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा धरान ब्याङ्कवेटमा आयोजना हुने जानकारी आयोजकले दिएको छ ।
तस्वीरः लक्ष्मण थापा













