Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको कोशी ब्यारेजमा बससँग ट्रक ठोक्किएर खस्दा सप्तकोशीले बगायो, ट्रकमा सवार तीनजनालाई तत्कालै उद्दार

हाम्रो कोशी आवाज
असार २९ २०८०, शुक्रबार
सुनसरीको कोशी ब्यारेजमा बससँग ट्रक ठोक्किएर खस्दा सप्तकोशीले बगायो, ट्रकमा सवार तीनजनालाई तत्कालै उद्दार

सुनसरीः सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता भएको छ । प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरी कार्यालय सुनसरीका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो ।
प्रहरीले ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए । उद्धार गरिएकाहरूमा ट्रकका चालक बागमती नगरपालिका–९, सर्लाहीका २४ वर्षीय दिनेश खत्री, ट्रकमा सवार कन्काई नगरपालिका झापाका भोला दाहाल र भारतीय नागरिक २४ वर्षीय उमेश राजपुत छन् । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको थियो । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश सामान्य घाइते भएका छन् । अन्य २ जनाको अवस्था सामान्य रहेको डीएसपी राईले बताए । बसका सवार रहेकाहरु भने सकुशल छन् ।
यात्रु लिएर काकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोशी नदीमा खसेको थियो । ‘विपरीत दिशाबाट आएको ट्रक र यताबाट जाँदै गरेको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो,’ डीएसपी राईले भने, ‘ट्रकमा रहेका तीनजनालाई तत्काल उद्वार गरियो, जसकारण मानवीय क्षति भएन ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बर्खायाममा मनसुनका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । ‘ट्रक नदीमा खसेपछि केही देखिएन, बर्खाकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ,’ उनले भने, ‘कोसी ब्यारेजको १० नम्बर ढोकाको बार पनि भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको हो ।’

प्रकाशित मिति: असार २९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend