Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुरुषजति विदेशिएपछि सुनसरी-मोरङका धेरैजसो उद्योग महिलाको भरमा

हाम्रो कोशी आवाज
साउन २० २०८०, शनिबार
पुरुषजति विदेशिएपछि सुनसरी-मोरङका धेरैजसो उद्योग महिलाको भरमा

सुनसरी दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्छिन् । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार जानुभएको तीन वर्ष भयो।

छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न जान्छिन् । उनीजस्तै इटहरीकी सावित्रा कोइराला पनि सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा काम गरेको पाँच वर्ष पूरा भयो । उद्योगमा काम गर्न थालेपछि कोइरालालाई घर चलाउन निकै सहज भएको छ।

‘दुई छोराछोरी स्कुल पढने छन्,’ कोइराला भन्छिन्, ‘यही उद्योगमा काम गरेको तलबबाट नानीहरू पढाउन भरथेग छ।’

दुहबीकी सरस्वती र इटहरीकी सावित्रा मात्र होइन, पछिल्लो समय सुनसरी, मोरङ करिडोर क्षेत्रमा रहेका ठूला उद्योगमा महिलाको संख्या आधा छ । उनीहरूकै भरमा उद्योग चल्दै आएका छन् ।

उद्योगमा काम गर्ने बहुसंख्यक महिलाका श्रीमानहरू विदेशमा छन् । पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै करिडोरमा रहेका उद्योगमा मजदुर अभाव हुँदै आएको थियो । सोही अभाव पूर्ति गर्न साना–ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । महिलाहरू पनि घरमा खाली बस्नुभन्दा दैनिक ५/६ सयसम्म आम्दानी हुने भएपछि काममा लाग्न थालेका हुन् ।

अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा १५ हजारभन्दा बढी महिला कामदारले नियमित काम गरिरहेका छन् । अरिहन्तमा अहिले चार हजार पाँच सय कामदार छन्। जसमा ४० प्रतिशत महिला छन्।

अरिहन्त जुट मिल्सका प्रबन्ध निर्देशक गोविन्द बजगाईंका अनुसार पूर्वका पुरुष प्रायः विदेश गएकाले त्यसको असर उद्योगले भोगिरहेका छन् । यसलाई कम गर्न महिला कामदार राखेको उनी बताउँछन् ।

काबराको उद्योगमा अहिले चार सयभन्दा बढीले रोजगारी पाएका छन् भने दुई सयभन्दा बढी महिला छन्। औद्योगिक करिडोरमा सञ्चालित जुट उद्योगमा पनि महिला मजदुरले नै बढी काम गरेका छन्।

नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले अहिले महिला कामदार राख्न थालेपछि कामदार अभाव हटेको बताए । उनका अनुसार मजदुरकै कारण उद्योगले उत्पादन कटौती गर्नुपर्ने अवस्था छैन। ‘महिला भनेपछि गार्मेन्ट उद्योगमा मात्र काम गर्ने संस्कार थियो,’ गोल्छाले भने, ‘महिलाहरू यतिबेला जुट, बिस्कुट, प्लास्टिक, चकलेट, चाउचाउलगायतका उद्योगमा काम गरिरहेका छन्।’

‘रमपममा पनि महिला कामदारको संख्या निकै छ,’ एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भने ।

यस क्षेत्रमा साना ठूला गरी साढे ५०० भन्दा बढी उद्योग छन् । ती उद्योगमा करिब ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये यस क्षेत्रमा सञ्चालित नौ जुट उद्योगमा मात्रै २० हजारभन्दा बढी मजदुर आबद्ध छन्।

उद्योग संगठन मोरङका अनुसार सुनसरी/मोरङ औद्योगिक करिडोर क्षेत्रमा महिला मजदुरको संख्यामा वृद्धि भएको छ। वैदेशिक रोजगारीमा पुरुषको आकर्षण बढेपछि मजदुर अभाव हुँदा त्यहाँका उद्योगहरूले महिलालाई प्राथमिकता दिन थालेका हुन्।

उद्योग संगठनले एक वर्षअघि गरेको एक सर्वेक्षण अनुसार गएको वर्ष करिडोर क्षेत्रका साना–ठूला गरी कुल १९२ उद्योगमा कुल २६ हजार मजदुरमध्ये १२ हजार ५९९ जना महिला कामदार रहेका छन् ।-ध्रुव भट्टराई/आइएनएस

प्रकाशित मिति: साउन २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend