Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जलाउन लागेको महिलाको शव प्रहरीले घाटबाटै उठायो

हाम्रो कोशी आवाज
साउन २३ २०८०, मंगलबार
जलाउन लागेको महिलाको शव प्रहरीले घाटबाटै उठायो

बिर्तामोड: कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले चिताबाटै उठाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो ।
कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पुर्‍याएको थियो । तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले स्थानीयवासीको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिँदै पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिए । कनकाई–३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुई जना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ । प्रायजसो घरमा झैझगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमानको कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ ।
‘स्थानीयवासीको मौखिक उजुरीका आधारमा पूजाको शव परीक्षणका लागि लगिएको हो’, प्रहरी नायब उपरीक्षक कार्कीले भने । पूजाको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । उनका श्रीमान चोपेन्द्र ठेक्कापट्टाको काम गर्दै आएको जनाइएको छ ।
चोपेन्द्रको परिवारमा यसअघि दुई श्रीमती र श्रीमानबीच मादक पदार्थ खाएको विषयमा झैझगडा हुँदै आएको स्थानीयवासीले बताएका छन् । मृतक पूजाका १० वर्षीय एक छोरा रहेको जनाइएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति: साउन २३ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend