संखुवासभा : जेलमा मृत्यु भएका कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनुअघि कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ । जिल्ला कारागारमा रहेको सीसी टीभी फुटेजमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।
सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘सीसीटीभीमा उनीहरू संलग्न देखिएपछि नियन्त्रणमा लिएका हौँ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति हिजै खाँदबारी (संखुवासभा) पुगेको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।
प्रहरी स्रोतका अनुसार कारागारभित्रै कैदीमाथि लाठ्ठी र मुक्काले बारम्बार हानेको सीसी क्यामेरा फुटेजमा देखिएको छ ।
प्रहरीले निरन्तर दिएको यातना र गरेको कुटपिटका कारण कैदीको मृत्यु भएको भन्दै छानबिन गरेर घटनाका दोषीउपर कडा कारबाही गर्न चौतर्फी दबाब परेपछि सीसीटीभी फुटेज मगाएर अनुसन्धान भएको थियो ।
कारागारको सुरक्षार्थ खटिएका असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभाको मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानको राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप एवं कुटपिट हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको थियो ।