Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी नदीमा पानीको बहाव घट्दै

हाम्रो कोशी आवाज
साउन ३० २०८०, मंगलबार
कोशी नदीमा पानीको बहाव घट्दै

पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
ब्यारेजको ५६ वटै ढोका खोलिएको उनले बताए । आज बिहान ६ बजेको मापनअनुसार चार लाख ५२ हजार सात सय १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो भने बिहान ८ बजे चार लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।
कोशीमा पानीको बहाव उच्च भए पनि कोशीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । राजावा, प्रकाशपुर, मधुवन लगायतका पूर्वी तटबन्धमा खतरा नरहेको उनले बताए । ठूला सवारी साधनलाई आलोपालो वारपार गराउँदै आएको छ । कोशीमा सन् १९८९ सालमा चार लाख ७२ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।
यस्तै गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै विसं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिक रुपमा प्रभावित भएका थिए ।
त्यसबेला सात हजार पाँच सय ६३ परिवारका ४२ हजार सात सय ६५ जना स्थानीय विस्थापित भएका थिए । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । यस्तै दुई लाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने नौ लाख क्युसेक प्रतिसेकेन्ड पानीको बहाव धान्न सक्ने रहेको जनाएको छ ।

प्रकाशित मिति: साउन ३० २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend