Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भोलि १२ बजेसम्म निषेधाज्ञा, कर्फ्यूसँगै धरान प्रवेश गर्ने नाकामा पनि कडाइ

हाम्रो कोशी आवाज
भाद्र ८ २०८०, शुक्रबार
धरानमा भोलि १२ बजेसम्म निषेधाज्ञा,  कर्फ्यूसँगै धरान प्रवेश गर्ने नाकामा पनि कडाइ

मेयर साम्पाङ र दलहरुको आग्रह
धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा  (कर्फ्यू)  जारी गरेको छ ।
धरानमा रयाली तथा प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि कुनै पनि सामाजिक, धार्मिक, राजनैतिक सभा, रयाली, प्रदर्शनलगायतका कार्य नगर्न जनाएकी छिन् ।
धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले आदेश लागू गर्न जनाइएको छ । आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।
खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप शुरु भएको थियो । केही व्यक्तिले गोरु काटेर खाएको भिडियो सार्वजनिक भएपछि हिन्दु धर्मालम्बीले विरोध गर्दैछन्। यता पहिचानबादीहरूले भने गोरुको मासु खान पाइने अडान राख्दै आएका छन् । जसअनुसार धरानमा भदौ ९ गते हिन्दूवादीहरूले शान्तिपूर्ण रयाली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको थियो । गोवध प्रकरण र धरान उपमहानगरमा मन्दिरकै छेउमा निर्मित चर्च काण्डबारे पनि विरोध गरिने कार्यक्रम तय थियो ।
श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते ‘गोरक्षा शान्ति रयाली’ आयोजना गर्ने तयारीमा जुटेका थिए ।
प्रशासनले धरान प्रवेश गर्ने चारैतिरको नाकासमेतलाई समेटेर धरानको सबै वडामा निषेधाज्ञा जारी गरेको हो । धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ पर्ने झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम रामधुनी नगरपालिका ६ नम्बरबाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फ पनि निषेधाज्ञा जारी गरेको छ । यस्तै, इटहरी वडा नं २० पर्ने तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी भएको हो । ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती/ भेलाजम्मा/ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिकाक्षेत्र भित्रका सम्पूर्ण वडालगायतमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सुनसरी प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।
डेङ्गु महामारी नियन्त्रण नआउने आक्रान्त धरानलाई ‘जनस्वास्थ्य आपातकालीन अवस्था’ घोषणा गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको अवस्थामा धरानको धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट एवं शान्ति, सुरक्षाको सम्बोधनशीलतालाई निषेधादेश जारी गरिएको सूचनामा उल्लेख छ ।
मेयर साम्पाङ र दलहरुको आग्रह
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले सबैलाई संयमित र संवेदनशील हुन आग्रह गरेका छन् । उनले आपसी सदभाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपीलसमेत गरेका छन् । उनले ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’ भन्ने भावलाई आत्मसात गर्न समेत भनेका छन् । उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
उता धरानका राजनीतिक दलहरुले सदभाव रयाली निकालेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी एकीकृत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमूक्ति पार्टी, किरात खम्बुवान सपा र विवेशील साझा पार्टीलगायतका अधिकांश दलका प्रतिनिधि सम्मिलित रयाली धरानको पुरानो हस्पिटलबाट शुरु भएर भानुचोकमा पुगेर टुंगिएको थियो ।
धरानमा देखापरेको धार्मिक, सांस्कृतकि विवादका विषयलाई सर्वपक्षीय सर्वदलीय वार्ता– संवादको माध्यमद्वारा समाधान गर्न उनीहरुले आग्रह समेत गरे ।
विज्ञप्ति समेत जारी गर्दै उनीहरुले नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय, बहुधार्मिक मुलुक भएकोले आपसको भातृत्व, सहिष्णुता, सद्भाव एक अर्काप्रतिको सम्मान भाव दर्शाउन आग्रह गरिएको छ । आजको बैठकपछि ती दलहरूले साझा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न सबैसँग अनुरोध गरेका छन् ।
विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहेको भन्दै उनीहरूले यस्तो आग्रह गरेको विज्ञप्तिमार्फत् जनाएका छन् । आपसी सद्भाव र सहिष्णुता कायम गर्न उनीहरूले सबैसँग आग्रह गरेका छन् ।
‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा कांग्रेसका धरान सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष कर्मजंग एभेङ, माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपाकाा अध्यक्ष ताजुब लिम्बू, रास्वपाका संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगरलगायतको हस्ताक्षर छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेससपा इन्चार्ज दिनेश राई, सलोराम इन्चार्ज भूपेन्द्रसुन्दर लावती, राजमुपा नेपालका उपमहासचिव विष्णु थाम्देन, खिसपा अध्यक्ष भुपि कायी र विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुदन कुमार श्रेष्ठले समेत हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: भाद्र ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend