धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा (कफ्र्यु) जारी गरेपछि धरान चकमन्न छ ।
धरानका मुख्य बजारमा पसलहरु खुलेका छैनन् भने लामो दुरीका यातायात चल्न सकेका छैनन् । तरहराको पानीपियामा बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको टोली नै त्यहाँ छ । प्रशासनले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि कुनै पनि सामाजिक, धार्मिक, राजनैतिक सभा, रयाली, प्रदर्शनलगायतका कार्य नगर्न भनेको छ । आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने समेत जनाएको छ ।
खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप शुरु भएको थियो । केही व्यक्तिले गोरु काटेर खाएको भिडियो सार्वजनिक भएपछि हिन्दु धर्मालम्बीले विरोध गर्दैछन् । यता पहिचानवादीहरूले भने गोरुको मासु खान पाइने अडान राख्दै आएका छन् । जसअनुसार धरानमा भदौ ९ गते हिन्दूवादीहरूले शान्तिपूर्ण रयाली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको थियो । गोवध प्रकरण र धरान उपमहानगरमा मन्दिरकै छेउमा निर्मित चर्च काण्डबारे पनि विरोध गरिने कार्यक्रम तय थियो ।
श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते ‘गोरक्षा शान्ति रयाली’ आयोजना गर्ने तयारीमा जुटेका थिए ।
यसैबीच शनिबार बिहानैदेखि धरानका चारै नाकामा सुरक्षामा कडाइ गरिएको छ । १२ बजेसम्म धरानमा समूह बनाएर प्रवेश गर्न रोक लगाइएको हो । निषेधाज्ञा अवधिमा धरान प्रवेश गर्ने नाकामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।
धरान प्रवेश गर्ने पश्चिम क्षेत्रको चतरा, पूर्वको पानबारी, उत्तरको भेडेटार र दक्षिणको तराहरा क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी चेकजाँच कडाई गरिएको प्रहरीले जनाएको छ ।
बिहानैदेखि धरान प्रवेश सवारी साधन फर्काइएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रहरी कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको टोली परिचालन गरेको छ ।
इटहरीतर्फबाट धरान आउने सवारीलाई तरहराको पानीपियामै रोकिएको छ । त्यहाँ काठमाडौँसहित, झापाको बिर्तामोड, इलाम, पाँचथर, ताप्लेजुङतिरबाट आउने सवारी साधन पनि ठप्प भएका छन् । यस्तै, विराटनगरसहित स्थानीय लोकल बससहित विभिन्न अत्यावश्यक सवारी साधनलाई पनि प्रहरीले तरहराबाटै फर्काएको छ । यस्तै, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरसहित पहाडी जिल्लाबाट आउने सवारीसाधन भेडेटारमै रोकिएका छन् ।
उता, उदयपुरसहित विभिन्न ठाउँबाट धरान आवतजावत गर्नेहरू चतरामा रोकिएका छन् भने मोरङको केराबारी क्षेत्रबाट आउनेहरू उतै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले सुनसरी प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा गरेसँगै शान्ति सुरक्षामा कडाई गरिएको बताए । तस्वीरःहाम्रो कोशी आवाज र तिर्थ कार्की



























