धरानः जिल्ला सुनसरी ट्राफिक कार्यालय धरान र नगरपालिकाद्वारा दुर्घटना न्युनीकरण र ई–रिक्सा सवारीलाई व्यवस्थित गर्ने सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ ।
जिल्ला सुनसरी ट्राफिक प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकाद्वारा धरानमा सवारी दुर्घटना न्युनीकरण गर्न र ई– रिक्सा (सिटी सफारि) सवारीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न जनचेतनासहितको कार्यक्रम भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरी धरानका प्रमुख सुवास केसीले कार्यक्रमको औचित्यबारे जानकारी गराएका थिए भने धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले सहजीकरण गर्नुको साथै ई–रिक्साबारे धरान नगरपालिकाले हाल बनाएको ऐन नियमसम्बन्धी जानकारी गराए ।
जिल्ला ट्राफिक प्रमुख केसीले धरानमा अधिकांश धरान उपमहानगरपालिकामा दर्ता नभएका ई– रिक्सा (सिटि सफारी) हरुकोको संख्या धेरै भएकोले ट्राफिक समस्या भएको जनगुनासो आएपछि कावारहीमा जानु अगाडि सचेतना फैल्याउने हिसाबले जानकारी तथा सचेतना कार्यक्रम आयोजना गरेको बताए । उनले सिटी सफारी चालकलाई मात्र नभई सबै अटो अन्य गाडी लगायतका चालकहरुलाई सचेत भई धरानको समग्र ट्राफिक व्यवस्था सुधार्न सबै लाग्नुपर्ने बताए । उनले सफारी चालकहरुले लाइसेन्स प्राप्तिको लागि झेल्नुपर्ने झन्झटहरुको लागि यातायात कार्यालयसँग समन्वय गरेर सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले धरानमा नगरपालिकामा लगभग ५–६ सयभन्दा बढी सफारीहरु भएको जानकारीमा आएपनि अहिलेसम्म नगरपालिकामा ४ वटा मात्र दर्ता भएको बताए । ‘अहिले हामीले दर्तामा केही सहज गरेका छौं’, उनले भने, ‘चालकको लाइसेन्ससँगै सवारी पनि दर्तामाधरान नगरपालिकाले अनिवार्य गरेको छ । यदि सबै दर्ता प्रक्रियामा नगएमा कावाहीको दायरामा ल्याउँछौं ।’
कार्यक्रममा उपस्थित ई–रिक्सा चालक तथा मजदुरका नेता लगायत केही सिटी सफारी व्यावसायीहरुले आ–आफ्ना गुनासोहरु समेत राखेका थिए । गुनासो राख्ने क्रममा श्रमिक नेपाल सिटी सवारी धरानकी सचिव रिना लामाले आफू धरानको पहिलो महिला सिटी चालक रहेको बताउँदै सचेतना कार्यक्रम एकदमै सह्रानीय रहेको बताइन् ।
तस्वीरहरुः लक्ष्मण थापा


