Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा पुनः ३० दिनपछि सत्ताविहीन मुख्यमन्त्री कार्की, दिए राजीनामा

हाम्रो कोशी आवाज
असोज २० २०८०, शनिबार
कोशी प्रदेशमा पुनः ३० दिनपछि सत्ताविहीन  मुख्यमन्त्री कार्की, दिए राजीनामा

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उनले आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको पनि जिकिर गरे । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलीजुली बनाउनु नै अन्तिम विकल्प भएको दाबी गरे ।
सर्वोच्च अदालतको परमादेशबाट कमब्याक भएका कोशी प्रदेश एमाले संसदीय दलका नेता कार्की पुनः ३० दिनपछि सत्ताविहीन हुन पुगेका छन् । गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजको प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम थियो । तर विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिएका हुन् ।
यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्की १७४ दिनमा सत्ताच्यूत भएका थिए । गत असार १५ गते प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको थियो । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेपछि उनी पदमुक्त बनेका थिए । पुस २४ गते नियुक्त भएका उनले पुस २५ गते शपथ ग्रहण गरेका थिए ।
भदौ २२ गते पुनः नियुक्ति भएका कार्कीले अघिल्लो कार्यकालमा सत्ताच्यूत हुँदा ल्याएको विश्वासको मत पनि अहिले नपाउने परिस्थिति बन्यो । राप्रपाले असहयोग गर्यो भने एमालेबाटै उपसभामुख रहेको कारण कार्कीको पक्षमा ३९ मत मात्रै हुने अवस्था थियो । प्रदेशसभा अहिलेसम्म सभामुख विहीन छ । उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार रहेकी छिन् ।
एमालेको कोशी प्रदेशमा हालको गठबन्धन दल काँग्रेस, माओवादी, नेकपा (एस) र जसपासँग राम्रो सम्बन्ध छैन । यसअघि नै प्रदेशको नामकरणको विषयमा विवादित बनेका कार्कीले विश्वासको मत लिनका लागि अन्य दल मिलाउनै सकेनन् । जसका कारण दोस्रो पटक संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बन्ने अवसर पाए पनि उनले आफ्नो पद जोगाउन सकेनन् । कार्कीले राजीनामा दिएसँगै अब अर्को सरकार गठनको लागि संविधानको धारा १६८ को उपधारा (५) आकर्षित हुने भएको छ । जसको लागि दलहरूले तयारी सुरु गरिसकेका छन् । कोशी प्रदेशको दोस्रो कार्यकालमा अब बन्ने मुख्यमन्त्री पाँचौँ पटक हो । यसअघि कार्की १ पटक र काँग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बनिसकेका छन् । पाँचौँ पटकमा बन्ने मुख्यमन्त्री को भन्ने विषय अहिले नै टुङ्गो लागिसकेको छैन ।
अघिल्लो पटक असार २१ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका काँग्रेस नेता थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले साउन ११ गते खारेज गरेको थियो । त्यसबेला मुख्यमन्त्री थापाले २२ दिन मात्रै काम गर्न पाएका थिए ।
अदालतले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको लागि बाटो खोलिदिएको थियो । सोही अनुसार थापा पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भए । तर, उनले भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिए र सर्वोच्चले पुनः भदौ २१ गते उनलाई बर्खास्त गरेको थियो ।
कोशी प्रदेशको पहिलो प्रदेशसभाबाट तीन जना मुख्यमन्त्री बनेका थिए । पहिलो पटक एमालेका शेरधन राई, दोस्रो पटक एमालेकै भीम आचार्य र तेस्रो पटक नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए ।
अहिलेको प्रदेशसभामा रहेका ९३ सदस्यीय सांसदमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् ।
एमाले नेतृत्वमा बन्ने सरकारसँग भन्दा गठबन्धनसँग १ मत बढी छ । उपधारा (५) अनुसार सरकार गठन गर्ने अवस्थामा ४७ सांसदको हस्ताक्षर पुर्‍याउन गठबन्धनलाई सहज छ । तर, एमाले र राप्रपा लागि त्यो परिस्थितिमा मध्यावधिमा लाने कि सरकारलाई बहुमत सिद्ध गर्न दिने भन्ने अवस्था सिर्जना हुनसक्छ ।
एमाले र राप्रपा एकातिर र अन्य दल एकातिर भएको अवस्थामा भने नयाँ सरकार गठन भए पनि स्थिर हुने सम्भावना कमजोर छ । जसका कारण प्रदेशसभा विघटनको दिशामा जान सक्ने धेरैले अनुमान गरिरहेका छन् । दलहरूले गठबन्धन फेरबदल नगरेसम्म वा नयाँ सहमति नगरेसम्म प्रदेशको परिस्थिति जटिल मोड तिर गएको छ ।

प्रकाशित मिति: असोज २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend