धरानः धरान–९ स्थित विष्णु मेमोरियल माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्लस टु तर्फ कक्षा–११ र १२ का विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा बिटा समूहबाट कक्षा–१२ विज्ञान सङ्कायका प्रज्ञान दाहाल, कक्षा–११ म्यानेजमेण्ट सङ्कायकी प्रज्ञा दाहाल, कक्षा–११ विज्ञान सङ्कायकी तियाहाङ लिम्बू प्रथम भएका छन् ।
यस्तै, ठिटा समूहबाट कक्षा–१२ म्यानेजमेण्ट सङ्कायकी सन्ध्या दाहाल, कक्षा–११ विज्ञान सङ्कायका आलोक लिम्बू, सुप्रबलराज भट्टराईले द्वितीय स्थान हात पारे भने गामा समूहबाट कक्षा–११ विज्ञान सङ्कायका पालक अग्रवाल, कक्षा–१२ म्यानेजमेण्ट सङ्कायकी रोजा बराल, कक्षा–१२ साइन्स सङ्कायकी मुनाल काफ्लेले तृतीय स्थान हात पारेको प्लस टु कोअर्डिनेटर नविन शाक्यले जानकारी दिए । क्वीज मास्टर हेमन्तमणि दाहालले सो प्रतियोगिताको सहजीकरण गरेका थिए ।
विष्णु माविले सानो कक्षादेखि माथिल्लो कक्षासम्मका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि खरो उतार्दै आएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘गुणस्तरीय शिक्षणसँगसँगै विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिइरहेको छ’, उनले थपे, ‘सानो कक्षादेखि कक्षा–११ र १२ सम्म हामीले अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई खरो उत्रिन भनिरहेका छौं ।’
प्रिन्सिपल श्रेष्ठका अनुसार फुटबल, बास्केटबल, क्रिकेट, टेबलटेनिस, कराँते, नृत्य, गायन, चित्रकलालगायतका अन्य विधाको कक्षा नै सञ्चालन गरिँदै आएको जानकारी दिए । ‘प्रतिभा देखाउन चाहने विद्यार्थीका लागि हामीले पहिल्यै जानकारी दिँदै आएको छौं, त्यसमा जो जुन विधामा रुचि राख्छन्, सोही विधामा हामी निःशुल्क अतिरिक्त क्रियाकलापका लागि कक्षा नै सञ्चालन छौं ।’ उनका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म र शनिबार बिहान ७ बजेदेखि ९ बजे र बेलुका साढे ३ देखि साढे ५ बजेसम्म यस्ता क्रियाकलाप गर्दै आएको छ ।
‘शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप जरुरी छ भन्ने विद्यालयले पहिलादेखि नै बुझेको हो’, उनले भने, ‘त्यसैले पनि अहिले हाम्रा नानीहरुले पढाइमा जति अब्बल छन्, त्यति नै अतिरिक्त क्रियाकलापमा पनि खरो उत्रिँदै अब्बल सावित हुँदै गएका छन्, यो गर्वको कुरा हो ।’













