धरानः नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा नेपालीहरुको दशैंलगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।
शुभकामना कार्यक्रमको प्रमुख अतिथि एवं नेपाली काँग्रेस को तर्फबाट बनिएका संघीय खेलकुद मन्त्री डीगबहादुर लिम्बूले कोशी प्रदेशको पुनः नामकरणको उठेको मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेसले पहिचानको विषयमा पार्टीको नीति स्पष्ट रुपमा जनमानसमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा १ नम्बर प्रदेश सभाका पूर्व सभामुख प्रदीपकुमार भण्डारीले धरान बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक नेपाली समाज सद्भावपूर्ण रहँदै आएकोमा केही समययता धार्मिक जातीय सद्भाव खलल ल्याउने प्रयास हुन थाल्नु दुर्भाग्यपूर्ण भएको बताए ।
धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाले आफू धरानको नेतृत्व सही र सबल हुनुपर्ने पक्षमा रहेको बताउँदै भने, ‘तर, धरानको विकासका लागि जुन समन्वय र सहकार्यको आवश्यकता छ त्यो हुन सकेको छैन । उपमेयर के हेरेर बसेको छ ? भनी प्रश्न पनि उठ्न थालेको छ, आफूले गर्न सक्ने समन्वयका प्रयास सक्दो गरी नै रहेको छु ।’
काँग्रेस नगर सभापति श्याम पोखरेलले विकास, निर्माण टाढैको कुरा सामाजिक सद्भाव समेते बिथोलिन अवस्थामा पुगिसकेको धरान समयमै धरानका राजनैतिक दलहरू संयम र एकजुट भएर, यहाँका बुद्धिजीवी, सामाजिक अभियन्ताहरूको समेतको प्रयासबाट सामाजिक, धार्मिक सद्भाव बिथोलिने ठुलो दुर्भाग्यबाट बचेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति एवं ईनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, भोजपुर सभापति एवं कोशी प्रदेशका सांसद विनोद वान्तावा, नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व संघीय सांसद मिना सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ल, तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बू, कांग्रेस प्रदेश १ (क) सभापति श्रेष्ठ, प्रदेश १ (ख) का सभापति मुरारी भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव हिमाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा सुनसरी १ नम्बर क्षेत्रीय कार्य समितिले मुखपत्र समेत विमोचन गरेको थियोे ।
तस्वीरहरूः लक्ष्मण थापा










