Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा सधैं अन्यौल, फेरि मध्यावधिकै डर

हाम्रो कोशी आवाज
कार्तिक २१ २०८०, मंगलबार
कोशी प्रदेशमा सधैं अन्यौल, फेरि मध्यावधिकै डर

कोशीमा आफैंले निर्माण गरेको केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएको एमालेले सरकारलाई दिएको समर्थन भने तत्कालका लागि कायमै राख्ने भएको छ । सोमबार बसेको एमालेको प्रदेश संसदीय दलको बैठकले समर्थन कायमै राख्ने निर्णय गरेको एमालेको प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।
सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएपनि एमालेले प्रदेशसभामा प्रमुख प्रतिपक्षीको बेन्चमा बस्ने निर्णय लिएको छ । सँगै एमालेले सरकारलाई दिएको समर्थन जुनसुकै बेला फिर्ता हुनसक्ने पनि स्पष्ट पारेको छ ।
“पछि निर्णय हुँदै जाला, हाल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरियो”, बैठकपछि भण्डारीले भनेका छन्, “सरकारमा जाँदैनौ, हामी प्रतिपक्षीको बेन्चमा बस्छौं । तर, अहिलेलाई बजेटसम्बन्धी प्रस्तावलाई पास गर्न सघाउँछौं ।”
मुख्यमन्त्री कार्कीले गठबन्धन दलका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा भित्र्याएपछि एमाले असन्तुष्ट बनेको थियो । शुक्रबार माओवादी र एकीकृत समाजवादीलाई सरकारमा समेटेपछि शनिबार एमालेले आफ्ना मन्त्री राम रानालाई फिर्ता बोलाएको थियो ।
प्रतिपक्षीको बेन्चमा पुगेको एमालेले तत्काल समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत पाउने अवस्था नबनेमा प्रदेश स्वतः मध्यावधी निर्वाचनतर्फ जानेछ । यस्तोमा तत्काल मध्यावधीमा जाने पक्षमा एमाले छैन ।
अर्कोतर्फ, एमाले सरकारबाट बाहिरिएसँगै कोशीमा कांग्रेस–माओवादी गठबन्धनले राप्रपासँग संवाद बढाएका छन् । मध्यावधीमा जाने अवस्थामा सहयोग गर्ने बचन दिएको राप्रपालाई मनाएर बहुमत जुटाउने प्रर्यत्नमा दलहरुको छलफल अघि बढेको छ ।
गठबन्धनका नेताहरुले बताएअनुसार सभामुख पद दिएर भएपनि राप्रपालाई मनाउने प्रयास भइरहेको छ । राप्रपा पनि मध्यावधीमा जाने पक्षमा देखिएको छैन ।
यस्तोमा करिब सत्ता आफ्नो हातबाट बाहिरिएको ठानेको एमालेले मुख्यमन्त्री र गठबन्धनलाई दबाबमा राख्ने रणनीतिअनुसार समर्थन कायमै राखेको बुझ्न सकिन्छ । एमालेले राजनीतिक परिस्थितिअनुसार निर्णय लिने भनिसकेको छ । एमालेले समर्थन फिर्ताको निर्णय पनि जुनसुकै बेला लिनसक्ने स्पष्ट पारेको छ । जसअनुसार एमाले कार्की सरकार र गठबन्धनभित्र थप खेल्ने रणनीतिमै देखिन्छ ।
कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको १० महिना पुरा भएको छ । तर, यो १० महिनाको बीचमा पाँच पटक सरकार ढल्दै बन्दै गरेका छन् । एमालेका हिक्मत कार्की दुई पटक, कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री बनेपछि कांग्रेसको इतर पक्षका कार्कीले मुख्यमन्त्री बन्ने मौका पाएका हुन् ।
तर, योबीचमा संविधानका सबै धाराहरु प्रयोग भइसकेको हुनाले कोशीमा नयाँ सरकार बन्ने अवस्था भने अब छैन । तथापी, जटिल संसदीय गणीतका कारण कोशीमा केदार कार्कीको नेतृत्वको सरकार पनि कतिसम्म चल्ने स्पष्ट छैन ।
यदि गठबन्धनका दलहरुबीच कुरा नमिलेमा, एमाले वा राप्रपा सरकारको खेलमा सहभागि नबनेमा सरकार स्वतः ढल्नेछ । प्रदेश मध्यावधीको अवस्थामा पुग्नेछ ।

प्रकाशित मिति: कार्तिक २१ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend