Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘पहाडी क्षेत्र रित्तिने खतरा’

हाम्रो कोशी आवाज
मंसिर २९ २०८०, शुक्रबार
‘पहाडी क्षेत्र रित्तिने खतरा’

धरानः नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् । शुक्रवार महाकाली-मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा उनले यस्तो बताएका हुन् ।
यात्राका क्रममा आफूहरूले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समय भित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठुलो संकट पैदा हुने अवस्था मध्यपहाडी यात्राका क्रममा अनुभव भएको बताए । उनले गाउँ बस्तीहरू बिस्तारै युवाविहीन अवस्थामा पुगेको भन्दै जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठुलो क्षति परेको बताए । उनले राजधानीमा बसेर सत्ताको भागबन्डा छोडेर जनतामा आउन र जनताका समस्या समाधान गर्न पनि आग्रह गरे । उनले परिवर्तनपछि पनि जनतामा ठुलो पीडा यथावत् रहेको भन्दै सबै राजनीतिक दलहरूले जनताको अवस्था परिवर्तनका लागि स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । उनले यात्राले नेकपा एमालेलाई जनतामा जोडिन र जनताका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने कुरामा सहयोग पुगेको बताए ।
उनले भने, ‘देश बर्बाद भयो, अब देश बन्दैन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ । त्यसलाई चिर्ने हाम्रो उद्देश्य थियो । कम्युनिस्ट पार्टीको ७५ औँ वर्षमा छौँ हामी । यो ७५ वर्षको बिचमा कम्युनिस्ट पार्टीले के ग¥यो र अब २५ वर्षमा के गर्छ भन्ने हो । जनताबाट सुन्ने र सिक्ने अवसर थियो । सारमा हामीले यसलाई सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय भनेका छौँ । यस अवधिमा हामीले २९ वटा ठुला सभा गरेका छौँ । तेह्रथुमको वसन्तपुरसम्म आइपुग्दा सय भन्दा बढी साना भेलाहरू गरेका छौँ । विकास सम्बन्धी सर्वदलीय छलफलका कार्यक्रम गरेका छौँ । साथै अरू थुप्रै नेपालको रूपान्तरणकारी योजनाहरूको अवलोकन गर्ने काम गरेका छौँ ।’
उनले अगाडि भने, ‘युवा केन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । नभए बिस्तारै गाउँहरू बस्तीहरू युवाविहीन हुने अवस्था रहेछ । विद्यालय कतिपय ठाउँमा रित्तिँदै गएका छन् । जलवायु परिवर्तनका असर बढी देख्यौँ । खानेपानीको मुहान सुक्ने, हिउँहरू पग्लिरहेको देख्यौँ । हिमालहरू कालो पहाड बन्दै गएको, ठुला पहिरो गएको छ । अन्य दलहरूलाई पनि राजधानीमा बसेर सत्ताको वाक्क दिक्क लाग्दो लुछाचुँडी र भागबन्डा छोडेर जनतामा आउनुस् । जनतामा ठुलो पीडा छ । सबैले स्वस्थ प्रतिस्पर्धा गरौँ ।’
उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरूको ठुलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंसिर २९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend