यदुनाथ भण्डारी, धरान
आँखा सागर झैं जलाम्य जहिले बेचैन प्रज्ञा, मन
फाटे स्वप्न उमङ्गका प्रगतिका खोक्रो भयो जीवन
चौतारा, गुँड शून्य छन् न छ खुसी लाखौं भयो वेदना
भोको पेट उकास्न देश अरुको लागे चरा शोकमा ।।१।।
आमा अश्रु बगाउँछिन् विरहमा खोसिन्छ खुसी किन
प्यारा स्वप्न सँगाल्दछिन् फेरि उही फर्किन्छ कि त्यो दिन
चौतारा, गुँड फेरि हर्षमय होस् फर्केर आउन् घर
आमाबाबु समीप सन्तति रहुन् यी देह मर्दा अब ।।२।।
सानो स्वर्ग समानको मुलुक यो हुन्थ्यो चिनारीपनि
गोर्खाली तन देख्न साथ रिपु भन तर्सेर भाग्थे पनि
खै त्यो साहस वीरता मनुजमा निर्लज्ज बन्दै गए
होला के गतिलो विकास अबता राजा हजारौं भए ।।३।।
आफ्नो देश सुदूरको स्थल भयो माटो विरानो भयो
नेता दुष्ट भएर स्वर्ग सरिको नेपाल रित्तो भयो
मीठो भाषणले सुुराष्ट्र कहिले बन्ला नबन्ला तर
आमा क्रन्दन गर्दछिन् निशदिनै के देश दुख्दैन र ।।४।।
सीमा रुन्छ शरीर यो लुछिसके बग्छिन् नदी शोकमा
चिन्ता गर्छ हतासमा हिमचुली अस्तित्व खोजौें कहाँ
लड्नै पर्छ युवा लडौं स्वजगमा सन्देश सत्कीर्तिले
आमाको उपहार हुन् प्रिय युवा सम्झ्योस् सदा देशले ।।५।।
शिक्षक, विष्णु मेमोरियल मावि, धरान
कवि शिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा कवि शिरोमणी साहित्य साधना समाज, धरानको आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगिता प्रथम स्थान हासिल गर्न सफल कविता ।