धरानः धरानमा कोशी नदीबाट पानी ल्याउने प्रक्रियाका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसहितको टोली राजधानी काठमाडौं हिँडेको छ ।
धरान खानेपानी बोर्डका राजु पोख्रेलसहितको टोली लिएर उनी काठमाडौं हिँडेका हुन् । उनी कोशीबाट पानी ल्याउने प्रक्रियाका लागि केही ‘डकुमेन्ट’ मिलाउनका लागि भन्दै काठमाडौं हिँडेका हुन् । कोशीको पानी ल्याउन यो वर्षबाट शुरु गर्ने गरी ‘रेडी’ पोजिसनमा रहेको र त्यसलाई सुनिश्चित गर्न मेयर साम्पाङ केन्द्रतिर दौडिएका हुन् ।
यसैबीच विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राईले खानेपानीको लागि सर्भेको काम सकिएको र प्रक्रियाको लागि काम अघि बढ्दै गरेको बताएका छन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आइतबार आयोजित धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषयक कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले धरानको खानेपानी समस्या समाधान गर्न कोशीबाट पानी ल्याउने योजनाको सर्भे कार्य सकिएको बताएका हुन् ।
अहिले कोशी प्रोजेक्टको सर्भे सकिएको र कन्सल्टेन्टले रिपोर्ट खानेपानी मन्त्रालयमा बुझाइसकेको उनको भनाइ छ । ‘खानेपानी मन्त्रालयले २०८१–०८२ को बजेटमा योजना प्रस्ताव गर्ने ठाउँमा पुगेको छ, अहिलेको मूल्य सूचीअनुसार ५ अर्ब रुपैयाँको लगानीमा कोशीमा बोरिङ गरेर त्या पानी लिफ्टिङ गरी डाँडामा चढाइ मेयर साम्पाङ हेरिसकेको जग्गामा स्टोर र फिल्टर गरी धरानको ट्याङ्कीमा झार्नेसम्मको लागत तयार भइसकेको छ ।’ उनले भने ।
खानेपानीको सो प्रोजेक्टमा हुने लगानी १० वर्षभित्रमा उठिसक्ने विशेषज्ञले नै जानकारी दिइसकेको हुनाले सरकार नै तात्तिएर लागेको उनको भनाइ छ । योजना निर्माण पूरा हुन ३ वर्ष लाग्ने र कोशीबाट ल्याइएको पानी धरानका उपभोक्ताका घरको ओभरहेड टङ्याीमा सहजै चढ्ने उनको भनाइ छ ।