छैन गुलाफको स्थानीय उत्पादन, विदेशकै भर
धरानः गुलाफ विश्वकै प्रसिद्ध फूल हो । जुनसुकै मौसममा पनि आफ्नो विशिष्ट मुस्कान छर्नु गुलाफको आम विशेषता हो । यसलाई प्रेमको प्रतीक नै मानिन्छ, प्रेम दिवस आफ्ना प्रेमी–प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । गुलाफ फूलको सौन्दर्यमा मोहित नहुने को होला ? पत्र पत्रमा अनेक आयाम बोकेर फक्रिएको गुलाफ देख्नासाथ मान्छेको ओठ अनायास बोल्छ– ओहो, क्या सौन्दर्य ।
पश्चिमा संस्कृति भएपनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । धरानमा पनि यसको आकर्षण बढ्दै गएको पाइयो । यहाँ पनि युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुन सकेको छैन । व्यवसायिकरूपमा फूलको खेती गर्ने किसान छन् तर बजारको माग पूरा गर्न सकेका छैनन् ।
बुधबार बजारमा बुझ्दा भारतबाट गुलाफको फूल आयात गर्नुपरेको व्यवसायी विवेक शाहले बताए । प्रेम दिवसमा उपहारका रूपमा दिइने गुलाफ फूलको उत्पादन कोशी प्रदेशमा पनि निरन्तर घट्दै गइरहेको छ । उनले प्रणय दिवसमा गुलाफ फूलको माग निरन्तर बढेको भएपनि उत्पादन भने पूर्वमै नभएको बताए । फेब्रअरी १४ को दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाफ फूल, कार्ड र उपहारस्वरूप विभिन्न सामान आदानप्रदान गर्ने चलन छ ।
उनले धरानमा व्यवसायिकरूपमा गुलाफको खेती गर्ने किसान नरहेको बताए । स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेक वर्ष गुलाफको आयात बढ्दै गइरहेको उनको भनाइ छ ।
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई उपहारस्वरुप दिएर मनाउने गर्दछन् ।























