धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । विस्तृत सम्भाव्यता अध्ययन अनुसार धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणले निष्कर्ष निकालेको हो।
मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययनले प्राविधिक र सञ्चालन अवरोधलाई कारण देखाउँदै विमानस्थल निर्माण गर्न नसकिने जनाएको हो ।
‘विद्यमान हवाई नीति, २०६३ मा भएको तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने, नीतिगत व्यवस्था विपरित हुने,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्र सम्भव भएकाले हवाई यातायातको दिर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएको ।’
तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ । धरान बजारबाट विराटनगर विमानस्थल करिब २३ नटिकल माइलको दूरीमा रहेको छ । सोहीकारण धरानमा विमानस्थल निर्माण गर्दा नीतिको व्यवस्था विपरीत हुने प्राधिकरणको निष्कर्ष छ ।
यसअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले विमानस्थल निर्माण गर्न पर्यटनमन्त्री सुदन किरातीलाई पत्र पठाएका थिए। पर्यटनमन्त्री किरातीले पनि विमानस्थल बनाउन अध्ययन समिति गठन गरेका थिए।
प्राधिकरणले अन्य विविध प्राविधिक तथा सञ्चालन अवरोधका कारण उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको निष्कर्ष निकालेको हो ।