धरानः धरानमा नेपाली भाषा र साहित्य क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा नेपाली भाषा क्षेत्रमा योगदान पुरयाउने प्रा.डा. टङ्कप्रसाद न्यौपाने, कवि साहित्यकार कुन्ता शर्मा, कवि वम देवान, डा. शरणकुमार राई, विमल स्मृति पुस्तकालय धरान–१८ का सञ्चालक पूर्णबहादुर गुरुङ र पत्रकार दशरत किरातीलाई सम्मान गरिएको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उनीहरूलाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए । शुक्रबार दिउँसो डा. पुरण राईद्वारा लिखित पाँच कृर्तिहरूको परिचर्चा, सम्मान एवं पुरस्कार घोषणा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर साम्पाङले साहित्य भनेको कल्पना भएको बताए । उनले साहित्यलाई आफूले एउटा विकासको मानकका रुपमा लिएको समेत बताए । उनले आफू चारैतिरबाट घेराबन्दीमा परेको र जतिसुकै घेराबन्दीमा परेपनि सहीलाई सही भन्ने हिम्मत राख्ने हुनाले कुनैपनि हालतमा नडराउने बताए ।
होटल पूर्वी स्टारको सभाहलमा आयोजित कार्यक्रममा डा. पुरणले आफ्नी आमा मौलशोभा राईको सम्झनामा हरेक क्षेत्रका आमाहरूलाई सम्मान गर्नका लागि पुरस्कारको घोषणा गरेका थिए । उनले प्रत्येक वर्ष एकजना आमालाई नगद ५० हजारसहित सम्मान प्रदान गरिने जानकारी दिए ।
कार्यक्रमका संयोजक प्रदीप मेयाङ्बोको अध्यक्षता सम्पन्न कार्यक्रममा डा. अस्मिता विष्ट, डा महानन्द तिमल्सिना, राजेश विद्रोही, किरात राई यायोक्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई, सुनसरी जिल्ला कार्यसमिति उपाध्यक्ष तथा किरात राई यायोक्खा केन्द्रीय सहसचिव नगेशचन्द्र राई, बुद्धिजीवी एबम समाजसेवी र पत्रकारहरुको उपस्थिति थियो ।
डा. अस्मिता विष्ट, डा. महानन्द तिम्सिना, महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेश विद्रोहीले कृतिमाथि समीक्षा गरेका थिए । कवि विमल गुरुङ स्मृति पुस्तकालय अनलाइन अभिलेख प्रा.लि काठमाडौको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।






