धरानः धरान उपमहानगरपालिकाको नगरसभा नै हुन सकेन । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षबीचको विवादका कारण सोमबार नगरसभा हुन नसकी समयमा नीति कार्यक्रम र बजेट आउन नसकेको हो ।
उनीहरूबीच केही कुरा नमिल्दा नगरसभा नभएको हो । धरान–१० स्थित सैनिक भवनमा दिउँसो ३ बजे हुने भनिएको बैठकमा मेयर, उपमेयर, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरू पुगेपनि निर्धारित समयमा हुन सकेन ।
नगरसभा आयोजना हुन नसक्नुमा वडाध्यक्षहरूले मेयर साम्पाङको दोष देखाएका छन् भने मेयर साम्पाङले वडाध्यक्षहरू र उपमेयरको दोष देखाएका छन् । ‘उहाँहरुले चाहेको के हो, मैले त बैठक बसौं भनेर समयमै पुगेको पनि हो’, मेयर साम्पाङले भने, ‘तर उहाँहरु नगरसभा बस्दैनौं भन्दै अडान राखी बहिष्कार गरेर हिँड्नुभयो, यसमा उपमेयरको पनि दोष देख्छु ।’
प्रवक्ता सूर्यबहादुर भट्टराई मनोजले कार्यपालिका बैठकको निर्णय विपरीत मेयरले जबरजस्ती गर्न खोज्दा यस्तो अवस्था आएको बताएका छन् । मेयरले बजेटको सिलिङ तोडेर नियमविपरीत हिँड्न खोजेपछि हामीले बहिष्कार होइन स्थगित गर्नुपर्छ भनेर हिँडेको उनले बताए ।
‘बजेट बनाउने विधि, प्रक्रियामा सिलिङ समिति, विषयगत समिति, वडा र बजेट तर्जुमा समितिमार्फत् बजेट नगर कार्यपालिकामा आएर नगरसभामा आउनुपर्दथ्यो’, उनले भने, ‘तर पनि त्यो अनुसार गर्ने भनेर एकखाले निर्णय भएको थियो, त्यो निर्णय लिखितरुपमा आउनुपर्नेमा केही लेखिएन, निर्णय भएको कुरा त लेखिनुपर्छ नि ।’
धरान–१५ का वडाध्यक्ष नरेश इवारमले बजेट नआएकोले आफूहरु उठेर हिँडेको बताए । मेयर साम्पाङले पत्रकार सम्मेलन गर्दै यसअघि नै वडाध्यक्षहरूलाई कार्यपालिका बैठक डाकिरहेको र समयमा नआएपछि समय घर्किएको र बजेट ल्याउन नसकेको बताए । मेयर साम्पाङले सोमबारको नगर सभा उद्घाटन र नीति कार्यक्रम गर्ने र असार २५ गते बजेटसहित आउने प्रस्ताव गरेका थिए तर वडाध्यक्षहरूले भने उनको प्रस्ताव अस्वीकार गरेका थिए ।
