Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको कृषि बजारबाट बेचिन्छ वर्षमा डेढ लाख खसी

हाम्रो कोशी आवाज
असार १७ २०८१, आइतबार
धरानको कृषि बजारबाट बेचिन्छ वर्षमा डेढ लाख खसी

धरान: धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ ।
साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।
मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आएका छन् । ‘केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । यहाँ पहिलो पटक आएकाले चार वटा खसी मात्र ल्याएको छु’, उनले भने, ‘साना खसी रहेकाले जोडीको १५ हजारमा बिक्री गरिरहेको छु ।’ उनको फार्ममा अहिले १६ वटा खसी छन् ।
धनकुटा सागुरीगढी गाउँपालिका-७ की किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन् । खसी, बोका बिक्रीबाट वार्षिक ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिइन् । पशुपालन पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताइन् ।
‘घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु । घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छ’, उनले भनिन् ।
मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउँछन् । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उनले जानकारी दिए । ‘यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु । यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ’, उनले भने ।
काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरूवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाए । उनका अनुसार सबै खर्च कटाएर मासिक ७० हजार रुपैयाँसम्म नाफा हुने गरेको छ ।
बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सतामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार गत वर्ष साउनदेखि यसवर्षको असारको १० गतेसम्ममा दुई अर्बको कारोबार भएको छ ।
भट्टराईले भने, ‘पछिल्लो समय धरानमा पशुपालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ । वार्षिक एक लाख ६० हजार वटासम्म बिक्री हुने गरेको छ ।’ धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका उनको भनाइ छ । यहाँबाट मुलुकको ठूला सहरका साथै भारतसम्म खसी, बोका निर्यात हुने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार १७ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend