धरानमा भारी वर्षाको बितन्डा
धानः धरानमा बिहीबार परेको मुसलधारे भारी वर्षाले एक बालकको ज्यान गएको छ ।
धरान–११ मंगलबारेस्थित ऐश्वर्य मार्गको ड्रेनको बाढीले बगाउँदा धरान–१७ पृथ्वीचोकनजिक नमूना वस्तीका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश लिम्बूले जानकारी दिए । ‘घर फर्किदै गरेका बालकलाई एक्कासी आएको बाढीले बगाउँदै निकै तल पुरयाएछ’, उनले भने, ‘शव धरान–१७ को ठकुरी खोलादेखि करिब दुई सय मिटर तल फेला परेको छ ।’
धरान–११ को भिक्टोरिया स्कुलमा कक्षा–९ मा पढ्ने उनी घर फर्किदै गरेका थिए । उनीसहित अन्य दुई विद्यार्थी कोचिङ पढेर घर फर्किँदै थिए । उनी तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । धरान–११ मंगलबारेदेखि वर्षाको भेला जम्मा भएर ऐश्वर्य मार्गमा पुग्दा सडक नै खोलामा परिणत हुने गरेको थियो । आजको मुसलधारे वर्षाले बाढी बढेर खहरे खोला उर्लिएजजस्तै बनेको थियो ।
यसैबीच बाढीले धरान–४ स्थित निशाने खोला छेऊमा लेदोसहितको पहिरो झर्दा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको उपमेयर अइन्द्रविक्रम बेघाले जानकारी दिए । उनका अनुसार धरान उपमहानगरपालिकाको डोजर लगेर अहिले एकतर्फी बाटो खुलाउने कार्य भइरहेको उनले जानकारी दिए । बाटो थुनिँदा अहिले सवारी आवागमन रोकिएको र जाम बढेको उनले बताए ।
भारी वर्षाका कारण धरान उपमहानगरपालिका अगाडिको सडक समेत भासिएको उनले जानकारी दिए ।
यस्तै, धरान–१३ स्थित श्रमदानबाट बनेको रकम गार्डेनमा बाढी पस्दा चिल्ड्रेन पार्क बगाएको छ । यस्तै, श्रम संस्कृति पार्क क्षेत्रमा बनेका कतिपय संरचनामा पनि क्षति पुगेको छ ।