Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दशैं बजारः स्थानीय सरकारको हलुका अनुगमनले सर्वसाधारण सोझै ठगिँदै

हाम्रो कोशी आवाज
असोज २२ २०८१, मंगलबार
धरानमा दशैं बजारः स्थानीय सरकारको हलुका अनुगमनले सर्वसाधारण सोझै ठगिँदै

धरानः धरानमा सरकारको हलुका व्यवहारले बजारमा, दैनिक उपभोग्य वस्तु, औषधि, लत्ताकपडा, सवारी साधनदेखि अधिकांश सामानमा उपभोक्ता ठगिइरहेका छन् । बजार अनुमनका क्रममा कैफियत भेटिए पनि ठूला–ठूला व्यापारीलाई कारबाही नगरी उन्मुक्ति दिएको उपभोक्ताको गुनासो छ ।
खाद्यान्न, तरकारी, मरमसलादेखि चिनीसम्मको मूल्य अत्याधिक बढेको छ । सरकारले महङ्गी, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गरी उपभोक्तालाई राहत दिने प्रतिबद्धता व्यक्त गरेपनि उपभोक्ता भने महङ्गीको मारमा परेकोपरयै छन् । यसपटक धरानमा बजार अनुगमन भएजस्तो मात्रै भयो ।
दशैं, तिहार, छैठजस्ता चाडपर्वमा अनुगमनको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने ठाउँमा अहिले आएर ठप्प छ ।
तीन हप्ताअघि धरान–१ स्थित लक्ष्मी चोकमा बजारमा अनुगमनमा निस्किएको टोलीलाई स्थानीयले चाडबाडको मौसमी अनुगमन हो भनेपछि पछि हटेको थियो । त्यहाँदेखि चाडबाड भित्रिसक्दा पनि कहीँकतै एकदिनपनि अनुगमनमा निस्किएको पाइएको छैन । त्यसैले पनि महङ्गी भने दिनप्रतिदिन अचाक्ली बढ्दै गएको देखिन्छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएपछि उपभोक्ताको लागि आउँदै गरेको तिहार, छैठमा महङ्गो हुने बजार भाउले नै प्रष्ट पारिरहेको छ । परल मूल्यमा २० प्रतिशत भन्दा बढी नाफा खान नपाइने व्यवस्था भएपनि व्यापारीले १ सय प्रतिशतसम्म नाफा खाने गरेको उपभोक्ता सविना राईको भनाइ छ । ‘यही कारणले गर्दा पनि आमउपभोक्ता प्रत्यक्ष मारमा परेका छन्’, उनले भनिन्, ‘उपभोक्ताको भान्छामा खपत हुने अधिकांश सामानको मूल्य बढेकाले त्यसको असर सर्वसाधारणमा पर्न गएको छ ।’
सरकारले उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गर्न नसक्दा बजारमा दिनहुँजसो मूल्य बढ्दै गएको छ । व्यवसायीबीचको मिलेमतो, फितलो कानुनको फाइदा उठाउँदै उपभोक्ता ठग्ने व्यापारीले उन्मुक्ति पाउने गरेका छन् ।
सोझै ठगिन्छन् सर्वसाधारण
‘जब चाडबाडको क्रम शुरु हुन्छ, तब बजार गुल्जार हुन्छ, मौकामा चौका हान्ने पनि बढ्छन्, नुनदेखि सुनसम्म, लत्ता कपडादेखि घटना परम्परा नै बनेको छ’ धरान–१७ की ललिता सुनुवारले भनिन्, ‘यसरी कहिलेसम्म ठगिइरहने ग्राहक ?’
हरितालिका तीजसँगै जुर्मुराउने चाडको लर्को कात्तिक अन्तिमसम्म चलिरहन्छ । यिनै ठूला चाडको मुख पारेर बजारमा कमाइ अनेकौं धन्दा शुरू हुन्छ । त्यसको मार भने सर्वसाधारण ग्राहक नै परेका छन्, ऋण गरेको होस् वा नगरेको नै किन नहोस् । स्वादिलो जिरा किन्नेहरूदेखि जहान–परिवारका लागि लुगाफाटो किन्नेहरूको भीड बढ्ने मौसम हो यो । उपभोक्ताको चाप बढ्दै गएपछि हरेक सामग्रीको मूल्य बढ्नु नियम होला तर, उपभोक्ताको उपस्थिति बाक्लिँदै गएपछि व्यवसायीहरू कृत्रिम मूल्यवृद्धि गरिदिन्छन् यो चाहिँ खतरा हो ।
‘यो ठगिने मौसम हो, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ’, धरान–१५ की माया लिम्बूले भनिन्, ‘नजान्ने र सोझा जनता त पर्ने नै भए, जान्ने पनि सहिद नै हुन्छन् । तर सम्बन्धित निकायले देखावटी बिकाहा बन्नु दुःखद् हो । बजारमा लत्ताकपडा, खाद्यान्नको माग बढ्ने मौसम नै यही हो, यही बेला उपभोक्तामाथि ठगीको घटना बढिरहेका हुन्छन् तर नियामक निकायको कुनै प्रभावकारी भूमिका देखिएकै छैन । बेलैमा यसतर्फ ध्यान दिनुपर्छ ।’
छोटो समयमै कमाउने गलत शैलीले गर्दा पनि चाडबाडको मौका चौका हान्नेका लागि उपयुक्त बन्दै गएको छ । धरान त्यसै त फेसनेबल सहर हो । यहाँ कोरियालगायतका स्थानबाट गुणस्तरीय साथै टिकाउका कपडा पनि भित्रिन्छन् । तर कपडाको मूल्य जहिल्यै बढ्छ ।
आयो चाडबाड ढोल बजाई, गयो चाडबाड ऋण बोकाई । यो कथन आजदेखिको होइन । सम्भवतः धेरै वर्षदेखिको हुनुपर्छ । चाडबाड भित्रिएसँगै नागरिक खुशी हुन्छन्, तर सकिएपछि रित्तोको रित्तो नै । ‘हुनेखाने वर्गका लागि दशैं, तिहारजस्ता चाडबाड रमाइलो भएपनि गरिब एवम् विपन्न वर्गका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मातसरह बन्दै गएको अर्का उपभोक्ता धरान–१३ निवासी पूर्णकला राईको भनाइ छ । समय–समयमा गरिने बजार अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने, मूल्य नियन्त्रण, मिसावटमा थप सजगता, देखावटी प्रवृत्तिलाई निरुत्साहित गर्नेजस्ता पक्षहरूलाई समाधान गर्न सके ग्राहक ठगिने क्रम केही कम हुने उनको सुझाव छ ।
महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक राजेन्द्र शर्मा भन्छन् धरानको बजार भाउ अनियन्त्रित छ, वस्तुको मूल्यमा मनपरितन्त्र हावी छ । उनले धरानको विकासको बाधकमध्ये यो पनि भएको बताउँछन् । उनी भन्छन्, ‘समृद्ध धरान बनाउने अभियानमा यस्ता कुराले पनि रोकेको छ ।’
केही वर्षअघि अब धरानमा हप्तामा एकपटक बजार अनुगमन हुने भन्दै प्रचारप्रसार गरियो । तर भनेजस्तो भएन । राष्ट्रिय साझा पार्टी अध्यक्ष भुपी कोइ राईले बजार अनुगमनमा निस्किँदा आफूले बजारमा फरक फरक मूल्य पाएको बताए । ‘पसलैपिच्छे फरक फरक मूल्य त हुनु भएन नि’, उनले थपे, ‘अझ लत्ता कपडामा त दोब्बर समेत मूल्य लिइन्छ ।’ उनका अनुसार एउटै कपडाको मूल्य फेन्सी पसल र भानुचोकको सस्तो बजार, पुरानो बजारमा फरक फरक छ ।
सरोकारवाला निकाय अनुगमन गरेको बताएपनि प्रभावकारी बन्न सकेको छैन । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले प्रत्येक दिन अनुगमन भइरहेको बताएका छन् । ‘हैट के भन्नुहुन्छ हौ, दिनका दिन अनुगमन भइरहेकै छ नि ।’ उनले फोन सम्पर्कमा भने । उनले सूचना आउँदा मात्रै अनुगमन गरिएको समेत बताए ।

प्रकाशित मिति: असोज २२ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend