धरानः धरान उपमहानगरपालिका मेयर हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारी धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तोकेर हिँडेपछि विवाद सतहमा आएको छ ।
कानुनतः स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख ७ दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ ।
तरपनि उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई जिम्मेवारी दिनु मेयर साम्पाङले कानुनी प्रक्रिया तथा विधिविपरीत कार्यवाहक तोकेकोले गम्भीर प्रश्न उठेको जनाउँदै उपमेयर अइन्द्रविक्रम बेघाले पत्रकार सम्मेलन गरेका छन् । ‘मेयरले कुनै धारा, दफा कुनै उल्लेख नगरी कुल्चिएर हिँड्नुभएको छ’, उनले भने, ‘त्यसैले कानुनी राज्यमाथि गम्भीर प्रश्न उठेकै हो ।’
उनले आग्रह र पूर्वाग्रह राखेर र व्यक्तिगत इगोले मेयर साम्पाङले आफूलाई हेपेको अनुभूति गराएको समेत बताएका छन् । उनले उपप्रमुख र वडाध्यक्षलाई बोधार्थविनाको पत्र प्रशासनलाई मात्रै दिएर मेयर साम्पाङ कार्यवाहक दिएर हिँडेको बताए ।
‘कार्यवाहकको कुराको प्रश्न भएन यो, पदीय जिम्मेवारी र कानुनी दायित्वको प्रश्न र कानुनी प्रश्न मूल कुरा हो, के आधारबाट कार्यवाहक दिइयो, व्यक्तिगत इगो वा अन्य केही कारणले हो भने त्यो सरासर गलत हो ।’
पत्रकार सम्मेलनमा उपमेयर बेघाले नैतिकता र कानुनी प्रश्नले सिङ्गो संस्था धरान उपमहानगरपालिकालाई नै विवादित बनाएको जनाएका छन् । ‘यसले सिङ्गो नगर र नगरवासीलाई समेत हित नगरेको अवस्था छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा विधिको शासन कायम गराउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सबै महाशाखाका प्रमुखहरूलाई निर्देशन समेत जारी गरेको बताएका छन् । उनले स्थानीय सरकार सञ्चालन ऐनको दफा र उपदफा बमोजिम मात्रै काम गर्न निर्देशन दिएको बताउँदै भने, ‘त्यो भन्दा बाहिर काम गरे गैरकानुनी हुन्छ, कार्यवाहक मेयरलाई सोही अनुसार कारवाही हुन्छ ।’
उपमेयर बेघाका अनुसार मेयर साम्पाङले कार्यवाहक मेयरलाई जुन आदेश दिएका छन् ती सबै उपमेयरले जिम्मेवारी पाएपछि पूरा गर्ने सम्भावना रहेकोले पनि आफूलाई जिम्मेवारीबाट मुक्त गराइएको जस्तो गराइएको हो ।
अक्टोबर १७ तारिखका दिन (बिहीबार) साम्पाङ बेलायत उड्न लागेका हुन् । मेयर साम्पाङले गत असोज २३ गते नै पत्र पठाएर असोज २८ गतेदेखि कार्यवाहक जिम्मेवारी निर्वाह गर्न वडाध्यक्षलाई जिम्मेवारी सुम्पेका थिए ।
मेयर साम्पाङले वडाध्यक्ष फागोलाई यी काम गर्दै नगर्नू भन्दै शर्त राख्दै अधिकार दिएका छन् । मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पेका थिए ।
उता कार्यवाहक वडाध्यक्ष समेत रहेका कार्यवाहक मेयर बनेका फागोले आफूले थोरै मात्रै अधिकार पाएको र आफूले मेयरले दिएको जिम्मेवारीलाई सहजरुपमा पूरा गर्ने दावी गरेका छन् ।
मेयर साम्पाङले भने आफूलाई सहज लागेको व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको प्रतिक्रिया दिँदै आएका छन् ।
मेयर साम्पाङ र उपमेयर बेघाबीच सम्बन्ध राम्रो नभएको कारण पनि उनलाई जिम्मेवारी नदिइएको हुनसक्ने अर्का वडाध्यक्ष बताउँछन् ।
कार्यपालिका बैठकमै आफूलाई ‘विषालु मनको मान्छे’ भन्दै मेयर साम्पाङले फेसबुकमा लेखेको भन्दै उपमेयर बेघाले फायर बनेका थिए ।
यो घटनालाई उपमेयर र वडाध्यक्ष भिडाउने मेयर साम्पाङको ‘कुटिल राजनीतिक चाल’ का रुपमा समेत बुझेको कतिपयले तर्क गर्ने गरेका छन् ।