Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङको वडाध्यक्ष फागोलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

हाम्रो कोशी आवाज
कार्तिक ४ २०८१, आइतबार
धरानका मेयर हर्क साम्पाङको वडाध्यक्ष फागोलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

धरानः धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले धरान–११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहक दिएको विषयमा परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।
सुनसरीको धरानका मेयर हर्क साम्पाङले गैरकानुनीरुपमा वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा उच्च अदालतले रोक लगाएको छ ।
उच्च अदालत विराटनगरले धरानका उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटको आइतबार सुनुवाइ गर्दै मेयर साम्पाङको निर्णय कायान्वर्यन नगर्न अन्तरिम आदेश दिएको हो । अदालतको यो निर्णयसँगै कार्यवाहक मेयर फागोको कार्यवाहक पद खारेज भएको छ । यो निर्णयले अब धरान उपमहानगरपालिका अब मेयरबिहीनजस्तै हुनेछ ।
उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले मेयर हर्कराज राई साम्पाङको सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । उत्प्रेषणयुक्त परमादेश माग्दै अदालत गएका उपमेयर बेघाको रिटमाथि आइतबार सुनुवाइ गर्दै अदालतले कात्तिक ६ गते बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
सो प्रकरणमा उच्चले विपक्षीलाई कारण देखाऊ आदेशसमेत जारी गरेको छ । मुद्दाको अर्को सुरुवाई कात्तिक ६ गते हुनेछ ।
उपमेयर बेघाले कार्यवाहक प्रमुखको कानुनी प्रावधान बहालीको लागि उच्च अदालत विराटनगरमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए ।
उपमेयर बेघाले उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ), कार्यालयका प्रशासकीय प्रमुख भूपेन्द्र राई, कार्यावहाक प्रमुख तथा वडा ११ का अध्यक्ष लोकेन्द्रकुमार फागोविरुद्ध उच्च अदालत विराटनगरमा शुक्रबार मुद्दा दर्ता गरेका थिए ।
बेघाले शुक्रबार दर्ता गरेको मुद्दामा स्थानीय सरकार सञ्चालन ऐन दफा १६ उपदफा ४ (क) को (१२) लाई लत्याउँदै गैर जिम्मेवारी कार्य गरेको उल्लेख गर्दै रिट दायर गरेका थिए । मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै ११ वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिनु गलत भएको भन्दै कानुनी उपचारमा अदालतसम्म पुगेका थिए ।
नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने कानुनी व्यवस्था छ ।
स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने संविधानमा उल्लेख छ ।
तर मेयर साम्पाङले भने कानुनविपरीत वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर आफू बेलायत पुगेका थिए । साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कनेछन् ।
मेयर साम्पाङले वडाध्यक्षलाई असोज २८ गतेबाट बेलायतबाट नफर्कुन्जेल ५ वटा शर्त राखेर अधिकार प्रत्यायोजन गरेका थिए । मेयर हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएको पत्रमा विभिन्न ५ सर्त उल्लेख गरिएको थिए ।
दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्ने, कार्यपालिका बैठक नबोलाउने, नबसाउने, खानेपानी महसुल वृद्धि विरोधी केही समयअघि दलहरूको आन्दोलनको क्रममा फोडिएको गेट र नगरपालिकाको बोर्ड अहिले मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा–बढुवा नगर्ने सर्तहरू छन् ।
वडाध्यक्ष फागोले आफूलाई कार्यालयमा बोलाएर पत्र दिएपछि आफू शर्तसहितको पत्र लिएर जिम्मेवारी पूरा गर्न भन्दै कार्यालयमा आएर कामकाजसमेत शुरुवात गरेका थिए । गत असोज २३ गते मेयर साम्पाङले वडा नम्बर ११ का अध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।
जिम्मेवारी तोकेपछि धरानका नेकपा एमाले, रास्वपा, माओवादी केन्द्रसहितका ६ दलले विरोध समेत जनाएका थिए भने निवर्तमान मेयर तिलक राईले समेत मेयरको प्रतिवाद गरेका थिए । कार्यवाहक जिम्मेवारी पाएका वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका कारण कांग्रेसले भने प्रमुखको कदमको विरोध गरेको थिएन ।
यसअघि कार्यवाहक मेयर पनि मेयर साम्पाङको कार्यकक्षमा प्रवेश नगरी सचिवालयका कर्मचारीको कुर्सीमा बस्दै जिम्मेवारी सम्हालेका थिए तर मिडियामा यी कुरा आएको केहीदिनमा मेयर साम्पाङको कार्यकक्षमा लागेको ताला समेत खुलेको थियो ।
मेषर साम्पाङले भने आफूलाई सहज हुने व्यक्तिलाई जिम्मेवारी दिएको बताएका थिए । मेयर साम्पाङ र कार्यवाहक पाएका वडाध्यक्ष पारिवारिक नाता पर्ने थिए । फागो, मेयर साम्पाङको मामाससुरा हुन् ।
अनि मिलेनन् मेयर र उपमेयर
यसअघि वडाध्यक्षहरूले मेयर साम्पाङविरुद्ध आन्दोलन चर्काएका बेला उपमेयर बेघा चुइँक्क बोलेनन् । मेयरविरुद्ध वडाध्यक्षले थालेको आन्दोलनले लामो समयसम्म कार्यपालिका बैठक नबस्दा उपमेयर बेघाले २०८० वैशाख २६ गते विज्ञप्ति जारी गरेर मेयर साम्पाङलाई अभिभावकको भूमिका निर्वाह गर्दै संवाद थाल्न सुझाए । यतिबेलैदेखि मेयर साम्पाङ उपमेयरसँग चिँढिए ।
धरान उपमहानगरपालिकाले वर्षेनी मनाउँदै आएको ‘धरान डे’ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा थियो । त्यतिबेला प्रचण्ड धरान आएनन् । यसअघि प्रचण्ड मेयर साम्पाङले शुरुवात गरेको वृक्षारोपण कार्यक्रममा भने आइपुगेका थिए । धरान डेमा भने नआएको झोंकमा मेयर साम्पाङले आफ्नो कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर त्यसको ठाउँमा प्रथम किराती राजा यलम्बरको फोटो राखेका थिए ।
त्यतिबेला उपमेयरसहित धरानका सबै दल रिसाए । उपमेयर बेघाले नगरपालिकाकै लेटरप्याडमा विज्ञप्ति निकाले कि यो कदम ठीक छैन भनेर ।
यो विज्ञप्तिपछि मेयर हर्क उपमेयर बेघाप्रति आक्रामक बन्दै गए । ‘मान्छे मारेर आएको’, ‘विषालु’ जस्ता संज्ञा दिँदै सामाजिक सन्जालमा तथानाम भनेका थिए । त्यसपछि भएको कार्यपालिका बैठकमा उपमेयर झोंक्किँदै कड्किए समेत । त्यतिबेलैदेखि मेयर र उपमेयरको सम्बन्ध राम्रो हुन सकेको छैन ।
उता मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमामार्फत् उपमेयर बेघालाई व्यङ्ग्य हानेका छन् । उनले लेखेका छन् ।
बेइमानीको राजा नै बन्यौ तिमी ! बधाइ छ तिम्लाई ! बेइमानीमा तिम्लाई म सक्दिन ! ढुङ्गा बोक्न तिम्ले नि मलाई भ्याउँदैनौ ! अब आआफ्नो सत्ता सम्हालौँ हाम्ले !  -उपमेयर बेघाले स्वतः कार्यवाहक पाउनेछन् भएकोमा सच्याइएको छ ।

प्रकाशित मिति: कार्तिक ४ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend