धरानः अन्ततः धरान उपमहानगरपालिका मेयरविहीन बनेको छ ।
उच्च अदालत विराटनगरले आइतबार र मङ्गलबार दुई दिन नै जारी गरेको उत्प्रेषणयुक्त परमादेशपछि धरान उपमहानगरपालिका मेयरविहीन बनेको हो ।
उच्च अदालत विराटनगरका न्यायधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरेशकुमार चौधरीको संयुक्त इजलासले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै कार्तिक १३ गतेका लागि पेशी तोकिदिएको छ । मङ्गलबार सुनुवाइ गर्दै अदालतले कार्तिक १३ गते दुवैपक्षलाई नियमअनुसार पेश गर्नु समेत भनेको छ । यो निर्णयसँगै पनि अन्ततः अब धरान उपमहानगरपालिका मेयरजस्तै बनेको हो ।
बेलायत भ्रमणमा जानुअघि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले उपमेयर अइन्द्रविक्रम बेघाको साटो कार्यवाहक मेयरको जिम्मेवारी धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तोके । उपमहानगरपालिकामा दुईजना कानुनी सल्लाहकार हुँदाहुँदै कानुनी परामर्श नै नगरी मेयर साम्पाङले कार्यवाहक तोक्दा निम्तिएको कानुनी उल्झनले अहिले धरान उपमहानगरपालिका मेयरविहीन बनेको हो ।
यसअघि आइतबार पनि उपमेयर अइन्द्रविक्रम बेघाले धरान-११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहक दिएको विषयमा परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको थियो । उपमेयर बेघाले दायर गरेको रिटको आइतबार सुनुवाइ गर्दै मेयर साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
अदालतको यो निर्णयसँगै कार्यवाहक मेयर फागोको कार्यवाहक पद खारेज भएको थियो । मङ्गलबार पनि सो अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । आइतबार नै आएको अदालतको परमादेशपछि धरानमा मेयर साम्पाङले कार्यवाहक मेयर तोकेको लिखित पत्र समेत बेवारिस बनेको थियो ।
अदालतको निर्णयसँगै मेयरबाट हुने काम धरान उपमहानगरपालिकाबाट रोकिएको छ । उपमेयर नै कार्यवाहक मेयर हुन् भनेर अदालतले नभनेकाले धरान उपमहानगरपालिका मेयरविहीन बनेको कानुन व्यवसायीको भनाइ छ ।
यो निर्णयसँगै अब मेयर साम्पाङले नै कार्यवाहकको जिम्मा कसैलाई तोक्नुपर्ने हुन्छ । कानुन व्यवसायीका अनुसार कसैलाई कार्यवाहकको काम, कर्तव्य र अधिकार तोक्ने अधिकार मेयरमा निहित हुने हुँदा अहिले मेयर साम्पाङ व्यक्तिगत भ्रमणमा बेलायत रहेको हुनाले उनले यस्तो अधिकार तोक्न धरान उपमहानगरपालिकामा उपस्थित हुनैपर्छ ।
अदालतले १३ गतेका लागि पेशी तोकेपनि १४ गतेदेखि सार्वजनिक विदा पर्छ । १४ गतेदेखि तिहार लाग्छ । त्यसैले मेयर साम्पाङ बेलायतबाट फिरेपछि मात्रै धरानमा काम हुने हुनाले धरान उपमहानगरपालिका मेयरबिहीन भएको हो ।
यसअघि उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले उत्प्रेषणयुक्त परमादेश जारी गरेसँगै मेयर साम्पाङले कार्यवाहकको जिम्मेवारी दिएको पत्र कार्यान्वयन नहुँदा वडाध्यक्ष फागो पनि स्वतः कार्यवाहक मेयर नरहने अवस्थामा पुगेका थिए ।
मेयर साम्पाङले धरान–११ का वडाध्यक्ष फागोलाई असोज २३ गते नै कार्यवाहक मेयर तोकेर पत्र दिएका थिए । तर, उनी २८ गतेमात्र धरान छाडेर बेलायत यात्रामा निस्केका थिए ।
मेयर साम्पाङ पक्षले भने कावा मेयर तोक्नु मेयरको अधिकार भएको दाबी गर्दै आएका थिए भने उपमेयर बेघाले पनि आफू हुँदाहुँदै मेयरले कार्यवाहक तोक्नु गलत हो भन्दै अदालतसम्म पुगेका थिए ।
