धरानः डीपी विलिभर्स इङ्गलिस स्कुलको आयोजनामा स्टार पूर्वी होटलमा एकदिने ‘मानसिक स्वास्थ्य, परामर्श र आत्महत्या रोकथाम’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
स्कुलका निर्देशक तथा प्राचार्य सञ्जीप बान्तवाको अध्यक्षतामा भएको कार्यशालामा धरान शहरका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मी, शैक्षिक संस्था, सामाजिक संस्था, प्रहरी प्रशासन गरी करिब ४० जनाको सक्रिय सहभागिता रहेको थियो ।
प्राचार्य बन्तवाले कोभिडपछि मानसिक स्वास्थ्य समस्याहरू जस्तै चिन्ता, एक्लोपन र किशोरावस्थामा डिप्रेसन, आत्महत्या गर्ने विचारका घटनाहरू बढेको अवस्था र चुनौतीलाई सम्बोधन गर्न प्राइम इन्टरनेशनल र इक्वीप नेपालको सहकार्यमा यो कार्यशाला आयोजना गरिएको बताए ।
कार्यशालालाई बेलायतबाट आएको डाक्टर डेभिड र डाक्टर एन्ड्रयूले सहजीकरण गरे । कार्यशालामा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न पक्षहरू, मानसिक स्वास्थ्य प्रवद्र्धन गर्न, चेतावनी चिन्हहरू पहिचान गर्न, प्रभावकारी रणनीतिहरू अपनाउन साथै समुदायमा आत्महत्या रोकथाम गर्न तरिकाहरूबारे छलफल र अन्तरक्रिया गरिएको थियो ।
सहभागीहरूको प्रतिक्रिया अनुसार कार्यशाला अत्याधिक जानकारीमूलक, आकर्षक, अन्तरक्रियात्मक र ज्ञानवद्र्धक रहेको बताए । कार्यक्रम हेमराज गुरुङले सञ्चालन गरेका थिए ।