धरानः श्री पब्लिक हाइस्कुल धरान–१२ मा धरान–१० मुनाल चौक निवासी नरनाथ घिमिरे र नेत्रकुमारी घिमिरेले छात्रवृत्ति अक्षयकोषका लागि ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।
आफ्नो छोरा चन्द्र घिमिरे त्यस विद्यालयमा पढेर एसएलसी पास गरेको र उच्च शिक्षा हासिल गरी विद्वान व्यक्तिको रुपमा स्थापित हुन सफल भएकोमा खुशी व्यक्त गर्दै आफ्नो छोरा जस्तै जेहेन्दार विद्यार्थी बन्न हौसला र सहयोग मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको बुवा नरनाथ घिमिरेले बताए । श्री पब्लिक हाई स्कुलबाट २०३७ सालमा एसएलसी उत्तीर्ण गरेका चन्द्र घिमिरे नेपाल सरकारको पूर्व वाणिज्य तथा आपूर्ति सचिव तथा हाल बेलायतका लागि नेपाली राजदुत छन् ।
श्री नरनाथ–नेत्रकुमारी घिमिरे छात्रवृत्ति कोषको नामबाट खातामा अक्षयकोषको रुपमा रकम जम्मा गर्ने गरी छोरा चन्द्र घिमिरे र बुहारी सरिता घिमिरे सहितले विद्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झा र विव्यस हरिबहादुर कार्कीलाई बिहीबार नगद रकम हस्तान्तरण गरेका हुन् ।
छात्रवृत्तिकोषलाई कसरी व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता–पत्रमा उल्लेख गरिएको जानकारी गराउँदै पूर्व विद्यार्थीहरुको माया, सद्भाव र सहयोगका कारण विद्यालय आजको अवस्थामा आइपुगेको प्रअ झाले बताए ।
सम्झौता पत्रमा परिवारको तर्फबाट श्रीमती नेत्रकुमारी घिमिरे र विद्यालयको तर्फबाट प्रअ डा. झाको हस्ताक्षर रहेको छ । दाताको तर्फबाट रोहबरमा छोरा चन्द्र घिमिरे र बुहारी सरिता घिमिरे रहेको छ भने विद्यालयको तर्फबाट रोहवरमा विव्यस अध्यक्ष कार्की, लेखापाल कमलप्रसाल खतिवडा र साइन्स तथा इलेक्ट्रिकल विभागका इन्चार्ज मोहन श्रेष्ठको हस्ताक्षर रहेको छ ।
अक्षयकोषको रकम चन्द्र घिमिरे आफैले उपलब्ध गराउने कुरा बुवाले मान्नु भएन । भारतीय पूर्व आर्मी बुबाले आफ्नो पेन्सन कोषबाट जम्मा रकम झिकेर विद्यालयलाई प्रदान गर्नु भएको चन्द्र घिमिरेले जानकारी गराए । विद्यालयले गरेको प्रगतिबाट आफू सन्तुष्ट रहेको साथै विद्यालय, गुरुहरू र आमाबाबुप्रति आफू सधैं नतमस्तक र ऋणी रहेको घिमिरेको कथन थियो ।
९७ वर्षीय बुवा नरनाथ घिमिरे र ७८ वर्षीय आमा नेत्रकुमारी घिमिरेले गरेको पुण्य कार्यबाट विद्यालयका अन्य अभिभावक तथा पूर्व विद्यार्थीहरुमा समेत विद्यालय प्रति सद्भाव र सहयोग गर्ने प्रेरणा मिल्ने धारणा विद्यालयको पूर्व विद्यार्थी समेत रहेका साइन्स तथा इलेक्ट्रिकल विभागका इन्चार्ज मोहन श्रेष्ठले व्यक्त बताए ।
यस छात्रवृत्ति कोषको बैंंक व्याजबाट प्राप्त हुने रकम यस विद्यालयबाट कक्षा ११ मा उत्कृष्ट हुने विद्यार्थीलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख भएको छ । विद्यालयका पूर्व विद्यार्थी बेलायतका लागि राजदुत भएकोमा खुशी व्यक्त गर्दै विद्यालयको तर्फबाट विव्यस कार्कीले बधाई तथा शुभकामना व्यक्त गरे ।