धरानः धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।