धरानः धरानमा नै पहिलोपटक प्रथम धरान वडास्तरीय महिला रनिङ कप फुटबल प्रतियोगिताको तयारी थालिएको छ ।
आउँदो मंसिर २२ गतेदेखि २० गतेसम्म आयोजना हुने सो प्रतियोगितामा धरानका २० वटै वडाका महिलारूबीच प्रतिस्पर्धा गराउने लक्ष्य राखिएको धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए ।
वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगिता धरान–१६ वडा कार्यालयको आयोजना तथा जनपथ जागरण समाजको संयोजनमा हुन लागेको उनले जानकारी दिए । ‘आउँदो मंसिर २२ गतेदेखि ३० गतेसम्म प्रथम धरान वडास्तरीय महिला रनिङ कप फुटबल प्रतियोगिता २०८१ आयोजना गर्ने निर्णय भएको छ’, उनले भने, ‘यो पहिलोपटक पनि हो, अधिकांश वडाका महिलाहरूको सहभागिता हुने अपेक्षा गरेका छौं ।’
धरानका विशेषतः पुरुष केन्द्रित खेलहरू मात्रै हुने गरेको र महिलाहरूको हौसलाको लागि यस्तो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
धरान–१६ स्थित रंगशालामा हुने प्रतियोगिता नक आउट आधारमा खेलाइने जनपथ जागरण समाजका अध्यक्ष टिका लिम्बूले जानकारी दिए ।
करिब ६ लाख ४० हजार रुपैयाँको लगानीमा आयोजना हुने प्रतियोगितामा प्रतियोगितामा बिजेता टिमले ८० हजार नगद, ट्रफीलगायतको पुरस्कार दिइने उनले जानकारी दिए । यस्तै, उपविजेता र प्रथम, द्वितीय रनिङलाई क्रमशः ४० हजार, ३० हजार र १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।






