धरानः धेरैजसोले देउसी भैलोबाट सङकलित रकम रमाइला कार्यका लागि खर्च गर्ने गर्छन्, तर धरानको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट सङकलन भएको रकम विद्यालयमा पढाउने शिक्षक शिक्षिकाको तलब भत्तामा खर्चिने भएको छ ।
धरान–१९ स्थित किरातेश्वर माध्यमिक विद्यालयमा प्लस टुसम्म अध्ययन अध्यापन हुँदै आएको छ । प्लस टु तर्फ दुईजना निजी स्रोतबाट तलब भत्ता दिएर विद्यालय सञ्चालन भइरहेको छ । यसका लागि शुक्रबार विद्यालयले ‘साङ्गीतिक कार्यक्रम’ सँगै देउसीभैलो कार्यक्रम आयोजना गरेको छ ।
कुलका प्रधानाध्यापक डा. योगेन्द्र पालुङवाका अनुसार विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा करिब तीन लाख उठ्ने आशा राखिएको छ । स्कुलले पत्रमार्फत् यसअघि नै विद्यालय प्राङ्गणमा देउसीभैलो कार्यक्रम आयोजना हुने जानकारी अभिभावकलाई गराइसकेको थियो । उनका अनुसार धरान–१९ का अधिकांश अभिभावकको हात हातमा कार्ड पठाइसकिएको र आज मात्रै नभई अन्य दिनमा पनि आएर सहयोग गर्ने गरेका छन् ।
‘खासमा भन्ने हो भने प्लस टु तर्फ पढाउने शिक्षकहरू निजी स्रोतलाई तलब खुवाउनैपरयो’, प्रधानाध्यापक डा. पालुङवा भन्छन्, ‘यसको लागि सहयोग पुगोस् भनेर पनि यो कार्यक्रम आयोजना गरिएको हो, यसअघिको तिहारमा पनि अभिभावकको भरपुर सहयोगले धेरै राहत मिलिसकेको छ ।’
यो रकम निजी स्रोतका शिक्षकलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने प्रधानाध्यापक डा. पालुङवाले जानकारी दिए । आर्थिक सङ्कलनका लागि तिहारमा यस वर्ष विद्यालयले शिक्षक शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सल्लाहकार र अभिभावकको सक्रियता रहेको उनले जानकारी दिए ।
सहयोगीदाताहरूकै कारण विद्यालयको आर्थिक अवस्था ठीकै रहेपनि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा देउसीभैलोबाट संकलित रकमले केही सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेन बताउँछन् । उनका अनुसार विद्यालयमा हालसम्म निजी स्रोतबाट अध्यापन गराइरहेका शिक्षक शिक्षिकालाई तलब भत्ता अभिभावकले नै व्यवस्था गरिरहेका छन् ।
विद्यालयले गरेको देउसीभैलो कार्यक्रममा सहयोगीहरू अर्थात धरान–१९ बासीले उत्साहका साथ सहयोग गरेका छन् । शुक्रबारमात्रै पनि करिब १ लाख रुपैयाँ उठिसकेको प्रधानाध्यापक डा. पालुङवा बताउँछन् । अभिभावक समेत रहेकी चन्द्रमाया लिम्बूले विद्यालयको शैक्षिक गुणस्तर उकास्न अभिभावकको समेत सक्दो सहयोग रहँदै आएको बताइन् ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षिकाले समेत मज्जाले नाच्दै भरपुर मनोरञ्जन दिएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देउमान ताप्मादेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धरान–१९ का वडा सदस्य एवं शिक्षक अभिभावक संघका अध्यक्ष जसरथ थलङ थिए । कार्यक्रममा सल्लाहकार मिति संयोजक मेघनाथ राई, १९ वडा सदस्य लोकेन्द्र राईलगायत अन्य अतिथिहरूको उपस्थिति थियो ।









