धरानः धरानमा पनि विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी तराई मधेशमा धुमधामले मनाइने छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।
धरानमा पनि उल्लासका साथ छठ पूजा मनाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै छठ पर्वको सुरुवात हुने मानिन्छ ।
ब्रतालुहरूले बिहीबार र शुक्रबार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइनेछन् । छठ पूजाको लागि धरानका सर्दु खोला (धरान–१३ र २० जोड्ने देवीमार्गनजिकै रहेको झोलुङगे पुल साथै पक्की पुलमुनि) मा सजाइएको छ । धरानका सेउती र सर्दु खोलामा मंसिरसम्म नै पानी आइरहने हुनाले किनारमा छठ पूजा गरिन्छ ।
छठ पूजा समारोह समितिले नै धरानको सेउती र सर्दु खोलामा छठको तयारी गरेको हो । धरानमा यसपटक छठ पूजा समारोह समिति सक्रिय भएर लागेको श्रद्धालुहरूले बताएका छन् । ‘अहिले सर्दु खोला बहुलीझैं सिंगारिसकिएको छ’, वीरेन्द्र शाहले भने, ‘यसपटकको पर्व भव्य हुने देखिन्छ ।’
बुधबार धरानको सर्दु खोलामा पुग्दा केही श्रद्धालुहरू छठ पूजाको लागि ठाउँ तयारी गरिरहेका थिए । त्यहाँ खोलाको धारलाई एउटै बनाउने, बिजुली बत्ती जोड्ने, टेन्ट टाँग्नेलगायतका कामहरू सकिइसकेको छ ।
छठ पर्व विधिवतरुपमा शुरु भइसकेको छ । तराई मधेशका भोजपुरी र मैथिली भाषीको मुख्य पर्व छठ हिजोआज भने धरानमा सबै जातजाति तथा समुदायले पनि ब्रत बसेर मनाउने गरेका छन् ।
तराईको साझा साँस्कृतिको पहिचानको रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ । छठका दिन ब्रत बस्नेले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिइन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन साँझ र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास रहिआएको छ । छठलाई शुद्धता, सद्भाव र आस्थाको पर्व मानिन्छ । तस्वीरहरूः हाम्रो कोशी आवाज








