Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलाई जसले संसारभर चिनाए, उनी हामीमाझ रहेनन्

शेखरनाथ जोगी
कार्तिक २२ २०८१, बिहिबार
धरानलाई जसले संसारभर चिनाए, उनी हामीमाझ रहेनन्

अलविदा नवराम राई, पूर्व राजाकी बुहारी हिमानी छोरीहरूसँग नाच्दा भाइरल

धरानः
गुराँसको फेदमुनि सम्झनाको छायाँ
जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया
नेपाली पपगीत स्रोताले यो गीत एकचोटि मात्र भएपनि गुनगुनाएको हुनुपर्छ । नेपाली पप आकाशमा फरक धार र आवाजले लाखौं स्रोतालाई यो गीतले नै मोहित पारयो । यस्ता चर्चित गीतका सर्जक गायक तथा संगीतकार नवराम राई हामीमाझ रहेनन् । उनी यस्तै गीतहरू गुन्जिँदासम्म जीवित रहेपनि सम्झनामा मात्रै रहे । उनको यो गीतसँगै कालो कालो रातमा…बोलको गीत पनि चर्चामै छ ।
मृगौलापीडित बनेका उनलाई बचाउन संगीतप्रेमी दाजुभाइ, आफन्तजन, पत्रकार समेत महिनौं लागिपरे तरपनि उनको उपचारका क्रममा निधन भएको हो । उनको उपचारका क्रममा गत कार्तिक १८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो । २०२० सालमा जन्मिएका उनको श्रीमती र एक छोरी छिन् ।
उनका साथी अर्थात् गायक स्थानीय नविन राईका अनुसार २०३५ सालदेखि नियमित गीत–संगीतकलामा लागेका उनले ‘बोलुँ भने दन्तैमा’ बोलको गीतमा संगीत भरेर उनी गीत–संगीतमा होमिएका थिए ।
धरान–१४ का जयश्रेष्ठ शान्तिले ‘कालोकालो रातमा’ बोलको गीत लेखेपछि नवरामले नै रेकर्ड गरेर गाएका थिए । जुन गीत संसारभरी ‘फेमस’ बन्न पुग्यो । त्यसपछि गोपाल देवानले लेखेको ‘गुराँसको फेदमुनी’ उनले नै गाए र रेकर्ड गराए । पछि त्यो गीत सविन राईलाई गाउन दिइयो । यो गीतलाई पछि सविन राईले शानले गाएपछि यो त्यही गीत हो जसले सविनलाई नेपाली संगीत क्षेत्रमा चिनायो । यी दुवै गीतले चिनाएन मात्रै उनलाई संगीत क्षेत्रमा स्थापित नै गरायो । उनी अहिले पनि चर्चाकै शिखरमा छन् ।
नवराम धरान–१८ रत्नचोकमा जन्मिए, हुर्किए अनि त्यहीँबाट सांगीतिक करिअर अगाडि बढाएका थिए । उनले धरानलाई समेत चिनाए । ‘यस्तो गायक, संगीतकार, गीतकारलाई गुमाउन पुगेका छौं, सायद धरानको सांगीतिक दुनियाँमा यो क्षति पुर्नका लागि धेरै समय पर्खिनुपनि पर्छ जस्तो लाग्छ,’ धरान–१८ का वडाध्यक्ष प्रविन राईले भने ।
धरान–१८ स्थित रत्नचोकमा साथीभाइ, इष्टमित्र, संगीतकर्मी, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलगायतको उपस्थितिमा अन्त्येष्टी कार्यक्रम आयोजना गरियो । टेम्के क्लबको आयोजनामा सो कार्यक्रममा पूर्व मेयर तिलक राई, वडाध्यक्षहरू मनोज भट्टराई, प्रविन राई, लोकेन्द्र फागो, धनबहादुर राई, नेता किशोर राईलगायत अन्य नेताहरूको समेत उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले धरान संगीतकार, कलाकार, गायक, साहित्यकार, खेलाडीहरूको सहर भएको बताए । मेयर साम्पाङले नवरामको गीत लोकप्रिय भएकै कारण धरानको नाम स्थापित भएको समेत बताए । उनले स्व. नवरामहरूकै कारणले धरानको नाम स्थापित भएको कुरा भुल्न समेत नहुने बताए । धरानले एउटा राष्ट्रको गहना गुमाएको समेत बताए । ‘राष्ट्रको गहनालाई गुमाउँदा हामी सबै दुःखी छौं र उहाँको आत्माले शान्ति पाओस् र परिवारलाई धैर्यधारण गर्ने शक्ति माङले, ईश्वरले, भगवानले प्रदान गरुन भन्ने कामना गर्दछु ।’
नजिकका साथी तथा संगीतकार विनोद थापा मगर मिजासिलो स्वभावका नवरामको निधनले संगीत क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउँछन् । धरानलाई संसारभर चिनाउने उनै नवरामप्रति हाम्रोतर्फबाट पनि हार्दिक श्रद्धा सुमन । अलविदा नवराम राई ।
पूर्व राजाकी बुहारी हिमानी छोरीहरूसँग नाच्दा भाइरल
‘गुराँसको फेदमुनि’ गीत पहिल्यै चर्चित थियो । नवरामले गाउँदा पनि र सविनले गाउँदा पनि । अझ रोचक त के छ भने पूर्वराजा ज्ञानेन्द्र शाहकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले छोरीहरूसँग बनाएको टिकटक ‘भाइरल’ भएपछि यो गीत फेरि एकाएक चर्चामा आएको थियो । गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएपछि संसारभरी सर्वत्र चर्चा भएको थियो ।
यो त्यही गीत हो जसले सविनलाई नेपाली संगीत क्षेत्रमा चिनाएपनि यसका गीतकार गोपाल र संगीतकार नवरामले ओझेलमा परेको भन्दै गुनासो गरिरहन्थे । सविन आफैले पनि यो गीतका गीतकार–संगीतकारको नाम म्युजिÞक भिडियो, एल्वम र सार्वजनिक कार्यक्रमहरूमा उल्लेख गर्ने–नगरेको गुनासो सर्जकहरूले नै गर्दै आएका थिए ।
हिमानीको टिकटक आएपछि गीतकार देवानले आफ्नो फेसबुक पोष्टमा सविनलाई अनुरोध गर्दै त्यतिबेला लेखेका थिए– गायक सविन राई भाइलाई हामी के अनुरोध गर्दछौं भने हामीलाई त्यो गीत वापत एक पैसा चाहिएन, तर नाम हुनुपरयो । म्युजिक एल्वममा नाम देऊ, सार्वजनिकरूपमा गीतकार र संगीतकारको नाम उल्लेख गर । बस् त्यति भएँ पुग्छ, हामीलाई ।।
पूर्व युवराज्ञी हिमानी छोरीहरूसँगै थाइल्यान्ड पुग्दा टिकटक सार्वजनिक भएको थियो । छोरी पूर्णिका शाहले आफ्नी आमा हिमानीसँग बनाएको भिडियो टिकटकमा हालेपछि केही समयमा नै भाइरल भएको थियो । गायक सविनले गाएको ‘गुराँसको फेदमुनि सम्झना छाँया’ बोलेको गीतमा हिमानी छोरीहरूसँग नाचिरहेकी थिइन् । पूर्णिका शाहको अकाउन्टबाट अपलोड गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । श्रीमती हिमानी र छोरीहरू नाचेको भिडियो पूर्व युवराज पारस शाहले समेत फेसबुकमा शेयर गरेका थिए । तस्वीरहरूः हाम्रो कोशी आवाज

प्रकाशित मिति: कार्तिक २२ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend