धरानः धरानकी समिता भण्डारी दशैं-तिहार जत्तिकै महत्व, उत्साह र उल्लासका साथ छठ मनाउँछिन् । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्वको मनाउने तरिका वा विधि फरक भएर नआएपनि उनी तराईबासी युवतीसँगै सिक्दै आएको बताउँछिन् ।
‘पहिला केही आउँदैन थियो, साथीले सिकाउँदा केही सजिलो भयो’, उनले भनिन्, ‘त्यही भएर अहिले सघाउँदा सजिलो भयो, आफू पनि पूजामा सहभागी बनें ।’ तराईमा मनाइने छठ पर्व पछिल्ला केही वर्षयता सबै समुदायको साझा बन्दै गएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले बताउँछन् । विगत केही वर्षदेखि अन्य समुदायले पनि निरन्तर छठ मनाउने गरेको उनले बताए । ‘पर्व जुन समुदायले मनाउने भए पनि राम्रो कुराको सबैले अनुशरण गर्नुपर्छ’, उनी भन्छन् ।
विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्वको आज मुख्यदिन । धरानमा उल्लास र रौनकता छाएको छ । यसपटक सर्दु र सेउती खोलामा भेला भएर सार्वजनिकरुपमा छठ मनाइएको छ । ।
आहा कति रमाइलो भन्दै पहाडे समुदायले समेत छठ पर्व साँच्चै रमाइलो मान्दै मनाए । वर्षेनी छठ मनाउन सर्दु र सेउती खोलामा भीड लाग्ने गर्दछ । यसपटक पनि त्यस्तै भीड लाग्यो । साँझपख अस्ताउँदो सूर्यको पूजाआजाका साथ छठ सम्पन्न भयो ।
तराईको साझा साँस्कृतिको पहिचानको रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ । धरानेले पनि दशैं, तिहार र छठ धुमधाम र हर्षोल्लासपूर्वक मनाएका छन् ।
छठका दिन ब्रत बस्नेले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिइन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन साँझ र त्यसको भोलिपल्ट बिहान भोलि उदाउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
पूर्ण विधि नजानेकाहरुले पनि पूजा गर्नेको संख्या बढ्दै गएको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास रहिआएको छ । छठलाई शुद्धता, सद्भाव र आस्थाको पर्व मानिन्छ ।
धरानको सर्दुखोला किनारमा छठ मनाउन पुगेकी प्रदेश १ की सांसद यशोदा कायस्थले छठ पर्व साझा बन्दै गएको र सद्भाव, एकता कायम गर्न सहयोग पुग्ने समेत बताइन् । छठ पर्वले कुनै पनि जात र समुदायमाथि विभेद नगर्ने उनको भनाइ छ । ‘छठ पर्व प्रकृतिको पूजा हो, त्यसैले यो सबैको साझा बन्दै गएको छ ।’ उनले थपिन् ।
पूजा सम्पन्न गर्न त्यहाँ स्वयंसेवक खटाइएको थियो ।
तस्वीरहरूः हाम्रो कोशी आवाज


















































