Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

९ वर्षअघि भत्किएको धरानको धनकुटे रोडको जोखिममा परेको पुल जोगाउन जुटे जनता (तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
कार्तिक २४ २०८१, शनिबार
९ वर्षअघि भत्किएको धरानको धनकुटे रोडको जोखिममा परेको पुल जोगाउन जुटे जनता (तस्वीर र भिडियोसहित)

धरानः धरान वडा नं ८ र १९ जोड्ने (बढीजसो दैनिक एम्बुलेन्स ओहोरदोहोर गरिरहने) बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुलको जग नै यस वर्षको भारी वर्षाले हल्लाउँदै भत्काउन खोजेपछि त्यहाँ ‘जनश्रमदान’ भएको छ ।
पुल गत २०७२ असोज ८ गते साँझ ८ बजे भत्किएको थियो । भत्किएको ३१ महिना अर्थात् पछि सो पुल बनेको थियो । सो पुल २०७५ वैशाख २६ गतेदेखि सञ्चालनमा आएको थियो । धरानमा गत असोज १३ गते परेको भारी वर्षाले सो सडकको जग साथै पूर्वपट्टिको ग्याविन वाल भत्काउनुका साथै पुलको अघिल्तिर क्षति समेत गरेको थियो । ठूलो बाढी आउनुअघि नै सो पुल जोखिममा परेको थियो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ), धरान–८ का वडाध्यक्ष धनबहादुर राई, कार्यपालिका सदस्य सावित्रा परियार दर्जी, उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठको समेत उपस्थितिमा धराने जनताले श्रमदान गरेका हुन् । श्रमदानका लागि धरान–८ टोल टोलदेखि जनता निस्किएको स्थानीय दोर्पध्वज राईले बताए । उनका अनुसार टोल विकास संस्थाका पदाधिकारीदेखि घरघरदेखि जनता पुल बनाउन जुटेका थिए ।
मेयर साम्पाङले पुल बनाउन पनि जनता जुटाएको भन्दै स्थानीयले प्रशंसा समेत गरेका थिए । मेयर साम्पाङले शहरमा भएका पुल, पुलेसा, बाटोघाटो पनि श्रमदान अभियानबाटै बनाइने बताए । उनले आजदेखि यो अभियानलाई निरन्तरता दिइने पनि बताए । ‘अन्य ठाउँमा भत्किएका, बिग्रिएका संरचना मर्मतदेखि सडकको ड्रेन निर्माणसम्मको काम श्रमदानबाटै हुनेछ, यस्तो काममा जनता घरदेखि नै निस्किने हुनाले धेरै राहत हुन्छ ।’ उनी भन्छन् ।
वडाध्यक्ष राईका अनुसार सो पुल बनाउनका लागि १५ लाखको इस्टिमेट तयार भएको तर मेयर साम्पाङसँग सल्लाह गर्दा श्रमदानबाटै बनाऔं भन्ने निचोडमा पुगेपछि श्रमदान अभियान थालिएको हो । ‘जे होस् १५ लाख बजेट बच्ने काम भएको छ,’ उनले भने, ‘यस्तो काम धरान–८ भरी होस् भन्ने चाहेको छु ।’ उनका अनुसार धरान–८ को अधिकांश भागमा खहरे पर्दा विशेषतः खहरेकै कारण जनताको गुनासो सुनिरहनुपरेको छ । उनले अन्य ठाउँका खहरेले पनि वस्तीलाई क्षति गर्ने हुँदा सो बचाउन यस्तै अभियान लिएर मेयर साम्पाङसँगै हिँड्ने बताए ।
स्थानीय दिनेश राईले पानीका लागि मेयर साम्पाङले यतिन्जेल जङ्गलतिरमात्रै ध्यान दिएको तर अब विकास निर्माणलगायतका काममा पनि ध्यान दिनुपर्ने दिन आइसकेको बताए । ‘जनताले मेयर त खाली जंगल, खोलातिर मात्रै भनेर भन्न थालिसकेका थिए’, उनी भन्छन्, ‘अब मेयरले सहरका कुना काप्चामा हुने समस्या, विकास निर्माणमा ध्यान दिनुपर्छ भन्छौं हामी ।’
यसअघि भत्केको पुलको कथा
पुल भत्किएर सडक अवरुद्ध भएपछि पूर्वका विभिन्न ठाउँबाट विरामी लिएर बीपी प्रतिष्ठान आउने एम्बुलेन्सलाई बढी समस्या भएको थियो । प्रतिष्ठान जाने एम्बुलेन्सलाई पायक पर्ने धनकुटे रोड अवरुद्ध भएपछि एम्बुलेन्स र अन्य यातायातका साधन भानुचोक वा अन्य सडकबाट घुमेर प्रतिष्ठान पुग्थे ।
२०७२ साल असोज ८ गते साँझ भत्किएको पुल लामो समयसम्म बन्न सकेन । सडक डिभिजन कार्यालय विराटनगरले २०७३ जेठमा १८ महिनाभित्र निर्माण कार्य सक्ने गरी धरानकै श्याम कन्स्ट्रक्सन निर्माण सेवालाई १ करोड ३ लाख रुपैयाँमा ठेक्का दिएको थियो । तर, निर्माणको जिम्मा पाएको श्याम कन्स्ट्रक्सनका सञ्चालक २० प्रतिशत पनि काम पूरा नगरी ७७ लाख रुपैयाँ लिएर फरार भएका थिए । त्यसपछि पुल निर्माण अलपत्र भएको थियो ।
तत्काल पुल निर्माण कार्य शुरु गर्न तत्कालीन नगर प्रमुख स्व. तारा सुब्बाले सडक डिभिजन कार्यालय विराटनगरको ध्यानाकर्षण गराएकाथिए । सडक विभागले पनि अटेर गरेपछि स्थानीय निर्माण व्यवसायी गोपाल श्रेष्ठ र गणेश गुरुङलाई नगरप्रमुख सुब्बाले पुल निर्माणको जिम्मा दिएका थिए । व्यवसायी गोपाल श्रेष्ठले आफ्नै लगानीमा पुलको निर्माण सकेका थिए । पछि पुलको बजेट निकासाको लागि सम्बन्धित निकायमा पहल समेत गरिएको थियो ।
त्यसपछि पुल भत्किएको ३१ महिनापछि बल्ल बन्यो र २०६५ सालदेखि सञ्चालनमा आयो । सञ्चालनमा आएको यतिका वर्षमा सो पुल पुनः जोखिममा परेको हो ।

प्रकाशित मिति: कार्तिक २४ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend