Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दिइयो निबन्धलाई दुई लाख पुरस्कार, राष्ट्रिय कविता प्रतियोगितामा प्रदीपको कविता पहिलो

हाम्रो कोशी आवाज
कार्तिक २४ २०८१, शनिबार
धरानमा दिइयो निबन्धलाई दुई लाख पुरस्कार, राष्ट्रिय कविता प्रतियोगितामा प्रदीपको कविता पहिलो

धरानः लेखक तथा कवि प्रकाश थाम्सुहाङले लेखेको निबन्धले धरानमा दुई लाख रुपैयाँ पाएको छ ।
उनले लेखेको ‘शब्दथुम’ लाई दुई लाख रुपैयाँ राशीको पुरस्कार प्रदान शनिबार गरिएको हो ।
धरान–१८ स्थित विमल गुरुङ स्मृति पुस्तकालयमा आयोजित कार्यक्रममा थाम्सुहाङलाई २०८० सालको कवि विमल गुरुङ कृति पुरस्कार अर्पण गरिएको हो । उनलाई नगद दुई लाख रुपैयाँ, ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडा, वरिष्ठ कवि बम देवान र विमल गुरुङ स्मृति पुस्तकालयका संरक्षक तथा विमलका बुबा पूर्णबहादुर गुरुङले पुरस्कृत गरेका थिए ।
यसैबीच कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सवमा आयोजित ‘सपना’ शीर्षकको कविता प्रतियोगितामा नवलपरासीका अन्जान प्रदीप (प्रदीप ढुङ्गाना) पहिलो हुँदै २१ हजार नगद पुरस्कार पाएका छन् ।
हाल बेलायत बस्दै आएका शान्ति लिम्बूको ‘थेम्स नदीको किनारै किनार’ शीर्षकको कविता दोस्रो बन्दै १८ हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । यस्तै, मोरङकी समीक्षा छिलिङ राईको ‘फूल र म’ कविता तेस्रो हुन सफल भयो । उनले १७ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरिन् । ८१ कविताहरुमध्ये फाइनलका लागि १० कविता छनौट भएको थियो । छनौटमा परेकामध्ये उत्कृष्ट तीन कवितालाई क्रमश प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी सोही कार्यक्रमको अवसर पारेर इटहरीमा रहेर पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय रहेका विवेक विवश रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मानले सम्मानित गरिएको छ । १० हजार नगदसहित उनलाई सम्मान गरिएको थियो ।
धरानमा अवकाशपछि पुस्तकालय खोलेर बसेका पूर्णबहादुरले आफ्नो दिवङ्गत छोरा कवि विमल गुरुङको स्मृतिमा २०४८ मा स्थापना गरिएको पुस्तकालय उनी निरन्तर रेखदेख गर्दै आएका छन् ।
१६ वर्षसम्म लाहुरे जीवन व्यथित गरेका उनले करिब चार दशकयता पुस्तक स्याहारिरहेका छन् । २०४८ वैशाख २४ गते १९ वर्षीय छोरा विमलको दुर्घटनामा मृत्यु भयो । विमल निकै अध्ययनशील थिए । उनको कोठाभरि राजनीतिदेखि साहित्य र अरू विषयका पुस्तक र पत्रपत्रिका हुन्थे ।
यो देखेर छोराका पुस्तक संरक्षण गर्छु भन्ने लाग्यो अनि विदेश नजाने अठोट गर्दै पुस्तकालय खोल्ने योजना बनाएको उनी बताउँछन् ।दीर्घकालीनरूपमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि उनले करिब दुई करोड रुपैयाँ बराबरको अक्षयकोष खडा गरेका छन् । कोषबाट आएको ब्याजले पुस्तकालयको खर्चलगायत चलाउने गरिएको छ । २०५२ देखि विमलको जन्मजयन्ति कार्तिक १९ गतेका दिन साहित्यिक कार्यक्रम गरी उत्कृष्ट स्रष्टालाई पुरस्कृतसमेत गरिँदै आउनुका साथै राष्ट्रिय कविता प्रतियोगिता हुँदै आएको छ ।

प्रकाशित मिति: कार्तिक २४ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend