Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको चर्चा

हाम्रो कोशी आवाज
कार्तिक २५ २०८१, आइतबार
धरानमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको चर्चा

धरानः धरानमा राष्ट्रिय विभूति महागुरु फागुनन्दको १४० औं जन्मजयन्ति धरानमा मनाइएको छ ।
धरान–१५ स्थित चुम्लुङ हिममा भेला भएर जन्मजयन्ति मनाइएको हो । धरान उपमहानगरकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महागुरू फागुनन्द र किरात धर्म दर्शन परिचर्चा कार्यक्रमको आयोजना भएको थियो भने किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समितिले समेत सो कार्यक्रम राखेको थियो ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले गुरुहरूको पनि गुरु फाल्गुनन्दको दर्शनलाई आत्मसात गर्नुपर्ने बताए । ‘धर्म भन्नेवित्तिकै आफ्नो आत्म, मनको शुद्धता र त्यो अनुसारको बोली, व्यवहार, चिन्तन मननमा निखारता ल्याउनु हो, फाल्गुनन्दले जुन किसिमको दर्शन बाँडिएको छ त्यसमा सबैजना हिँड्नुपर्छ ।’
कार्यक्रममा बोल्दै उपमेयर अइन्द्रविक्रम बेघाले फाल्गुनन्दको बाटोमा हिँडे सही ठाउँमा पुग्न सकिने बताए । ‘समाजलाई अग्रगामीतर्फ लैजान उहाँले पथप्रदर्शकको भूमिका निर्वाह गर्नुभएको थियो’, उनले भने, ‘उहाँको आदर्श र देखाएको बाटोलाई पछ्याउन सके सही गन्तव्यमा पुग्न सकिन्छ भन्ने लाग्छ ।’
तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किराँत धर्मदर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनःउत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किराँत समुदायलाई मार्गदर्शनमा डोहोरयाउन फाल्गुनन्द लिङ्देनको किराँत समुदायमा जन्म भएको थियो । सत्आहार, सत्विहार र सत्कर्म गर्नु भनी उपदेश दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । उनी सत्य, शान्ति र अहिंसाका सूत्रधारको रूपमा सबैमा पुज्य भएका छन् । किराँत धर्मावलम्बीहरूले उनलाई मुहिङगुम अङसीमाङको रूपमा आस्था र श्रद्धा पोख्ने गर्दछन् ।
महागुरुले समाज सुधारका लागि विसं १९८८ वैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बूवानवासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरूलाई भेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गरेका थिए । समाज सुधार अभियानमा आजीवन लागेका महागुरुलाई राज्यले उनको देहावसान भएको ६१ वर्षपछि विसं २०६६ मङ्सीर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूतिले सम्मानित गरेको छ । महागुरु फाल्गुनन्दको नाममा रु १५ को हुलाक टिकट राज्यले सार्वजनिक गरेको छ । महागुरु फाल्गुनन्दको नाममा नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनीसमेत प्रकाशन गरेको छ भने २०६६ मंसिर १६ गते नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।
इलाम जिल्ला माङसेबुङ गाउँपालिका–२ चुक्चीनाम्बा गाउँमा विसं १९४२ कात्तिक २५ गते आइतबार उनको जन्म भएको थियो ।
महागुरु फाल्गुनन्दले गलत मार्गमा दौडिरहेको संस्कारलाई दिशावोध गराएर किराँत धर्म दर्शनको रूपमा सतमार्ग, सुसभ्य मार्गको रुपमा किराँतीहरूलाई डोरयाएर साथै साम्जीक मुन्धुमलाई संहिताकरण गरेर किराँत समुदायको निमित्त सुसंस्कृति समाज निर्माण गरेका थिए। लोपोन्मुख अवस्थामा रहेको किराँत लिपिलाई प्रचार–प्रसार गरी ब्यूँताएका थिए ।
यसरी नै विश्व शान्ति र मानव एकताको शङ्खघोष गर्दै सत्य, शान्ति र अहिंसाको मार्ग देखाए। समाजमा रहेको जातीय, वर्गीय, लैङ्गिक विभेदको अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
किराँतीहरूको आफ्नो धर्म, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति लोप हुन लागेको अवस्थामा किराँत सभ्यताको ज्योति बनेर जन्म लिएका महागुरु फाल्गुनन्दले कुरीति र कुसंस्कारको दलदलमा रुमालिएको किराँत समाजलाई सभ्य र सुसंस्कृत बनाउन जीवन नै समर्पण गरेका थिए । सत्य, शान्ति र अहिंसाका सूत्रधारको रूपमा सबैमाझ पुज्य हुनुभएका फाल्गुनन्दले देश, विदेशका विभिन्न ठाउँमा पुगेर सभ्य समाज निर्माण गर्नमा जीवनपर्यन्त लागि परे ।
किराँत धार्मिक संस्थाहरूले २०७१ वैशाख २४ गते महागुरुको जन्मजयन्तीलाई किराँत चाडपर्व घोषणा गरेको थियो ।

 

प्रकाशित मिति: कार्तिक २५ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend