Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन, नवोदय कलेजकी एन्जोला राई कोशी प्रदेश प्रथम बनिन्, जसलाई दुबईमा ‘जबको अफर’

हाम्रो कोशी आवाज
कार्तिक २७ २०८१, मंगलबार
युएन, नवोदय कलेजकी एन्जोला राई कोशी प्रदेश प्रथम बनिन्, जसलाई दुबईमा ‘जबको अफर’

धरानः धरानमा अध्ययरत् एक छात्रा कोशी प्रदेश प्रथम बन्न सफल भएकी छिन् ।
धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत् छात्रा एन्जोला राई कोशी प्रदेश प्रथम बन्न सफल भएकी हुन् ।
उनले त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालित होटल म्यानेजमेन्टअन्तर्गत बिएचएम ८ सेमेष्टर अर्थात् अन्तिम सेमेयटरमा प्रदेश प्रथम बनेकी हुन् । उनले ३.८५ जिपिए ल्याएकी छिन् । यस्तै इसिका दर्नाल ३.८१ जिपिएसहित प्रदेश द्वितीय र जानुका राई, अनिष लिम्बू, सलिना लिम्बूले ३.७५ जिपिए ल्याउँदै प्रदेश तृतीय बन्न सफल भएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
एन्जोला इन्टर्नसीपका लागि दुबई पुगेकी थिइन् । त्यहाँ उनले ‘वेष्ट ट्रेनी अवार्ड’ पाएको होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुबईमै रहेको चर्चित होटल जे डब्लु मेरियटमा जबको अफर समेत पाएकी छिन् । ‘उनी सारै मिहिनेती, अनुशासन र विशेषतः प्रयोगात्मक शिक्षामा बढी जोड दिन्थिन्’, उनले भने, ‘उनको मिहिनेतकै सफलतास्वरुप उनको मिहिनेतबाट प्रभावित भएर दुबईकै चलेको होटलमा जागिरको अवसर पनि पाएकी छिन्, यो भन्दा गौरवको विषय केही होइन ।’
यसअघि पनि युएन, नवोदय कलेजका विद्यार्थीहरूले प्रदेश प्रथम, नेपाल ‘सेकेन्ड टप’ को नतिजा समेत हासिल गर्दै आएको क्याम्पस प्रमुख तुम्बापो बताउँछन् । ‘यसअघि यस कलेजमा पढ्ने विद्यार्थी पटक पटक प्रदेश प्रथम, सेकेण्ड, थर्ड साथै नेपाल सेकेन्ड टप समेत भएका छन्,’ उनले भने, ‘यो सबैको श्रेय लगनशील, मिहिनेती विद्यार्थी, अभिभावकको सपोर्ट, अध्यापकहरूको जोड बलले सफल भएको हो, हामी त्यसलाई निरन्तरता दिने प्रयासमा छौं ।’
कलेजले कार्यक्रम गरी यसरी प्रदेश प्रथम, द्वितीय र तृतीय नतिजा हासिल गर्ने विद्यार्थीलाई वर्षेनी नगद, सम्मान पत्रले सम्मान गर्दै आएको समेत उनले बताए ।
किन सधैं प्रथम ?
सधैं प्रदेश प्रथम मात्रै किन हुन्छन् युएन नवोदयका विद्यार्थी भन्ने पत्रकारको प्रश्नमा कलेजका कोअर्डिनेटर गगनमान श्रेष्ठले भन्छन्– विशेषतः बिएचएममा देशभरको नतिजा सबै कलेजलाई पठाएको हुनाले त्यहाँको नतिजा हेरेर आफूहरूले नेपालमा कस्को नतिजा टप आयो, प्रदेशमा को टप बन्यो आदि सबै जानकारी हुने हुनाले हामीले त्यहीअनुसारको नतिजासहित नतिजा सार्वजनिक गर्ने गरेका छौं ।
अहिले धरानमा विद्यार्थीले होटल म्यानेजमेण्ट, बिएचएम विषय रोज्न थालेका छन् । धरान–१६ स्थित युएन कलेजमा होटल म्यानेजमेण्ट र बिएचएम पढ्न विद्यार्थीको लर्को लाग्ने गरेको कलेजका अध्यक्ष ज्ञानेश्वर झा बताउँछन् । ‘खासमा बिएचएमका लागि त्रिविले ३३ जनाको कोटा मात्रै निर्धारण गरेको छ तर युएन कलेजमा विद्यार्थीको अहिले पनि चाप छ, यस वर्ष १५० बढी विद्यार्थीले बिएचएम पढ्न फर्म भराएका थिए’, उनले भने, ‘स्थापनाकालदेखि नै भर्ना खुलेको दुईदिनमै सिट प्याक हुने गरेको छ, यसले के जनाउँछ भने बिएचएममा विद्यार्थीको आकर्षण छ ।’
उनका अनुसार धरानमा बिएचएम आउनुअघि विद्यार्थी काठमाडौं केन्द्रित थिए तर धरानमा बिएचएम विषयको पठनपाठन हुन थालेपछि यहाँ पनि विद्यार्थीको लर्को लाग्न थालेको हो । उनले प्रदेश १ भरी होटल म्यानेजमेण्ट पढाइ हुन थालेपछि बिएचएममा विद्यार्थीको लर्को लागेको बताए । उनका अनुसार युएन कलेजको चर्चा काठमाडौंसम्मै चर्चा समेत हुने गरेको छ । ‘काठमाडौंमा बिएचएम पढाइ हुने कलेजपछाडि युएन कलेज नै आउँछ भनेर काठमाडौंमा समेत चर्चा हुने गरेको छ, त्यसैले धरानले नै बिएचएममा विद्यार्थी रोकेको छ, अब पढ्न काठमाण्डौं धाउन बाध्य हुनुपर्ने छैन ।’
उनले यो विषय पढ्दै, कमाउँदै गर्ने विषय भएको समेत बताए । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसरमात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ, साथसाथै विदेशमा गएर सातौं र आठौं सेमेस्टर पूरा गर्नुपर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ र पढ्दै कमाउन पनि सकिन्छ, इन्टर्नमा गएका कलेजका विद्यार्थीले राम्रो कमाइसमेत गरिरहेका छन् ।’ उनी भन्छन् ।
समयअनकूल शैक्षिक सीप पाइने भएकाले पनि पछिल्लो समय यस विषयप्रति विद्यार्थीको आकर्षण बढेको हो । -शीर्षक सच्याइएको छ ।

https://www.facebook.com/share/v/1B1DxRuFS8/

प्रकाशित मिति: कार्तिक २७ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend