धरानः धरान-२० स्थित चिण्डे डाँडामा निर्माण हुने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन आयोजित च्यारिटी कन्सर्ट (सुम्निमा पारुहाङ साँझ २०८१) सफल बनाउनका लागि कलाकारहरू धरान आइपुगेका छन् ।
कन्सर्टमा चर्चित कलाकार सविन राई, जोन राई, पूर्ण राई, विष्णु चेम्जोङ, द्रब्य, आरोही ब्याण्डको बेजोड प्रस्तुति साथै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको पनि विशेष प्रस्तुति रहने आयोजक सिल्भर इन्टरटेण्टमेन्टका सञ्चालक सौरव श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम करिब तीन बजेदेखि नै शुरु हुनेछ । ‘शुरुमा साँझका लागि सहयोग गर्ने दाताहरूको सम्मान कार्यक्रम राखिनेछ’, कार्यक्रमकी कोअर्डिनेटर मिना सिंगकले भनिन्, ‘त्यसपछि ठीक ५ बजेदेखि सांगीतिक कार्यक्रम शुरुवात हुनेछ ।’
यसअघि अविरल वर्षाका कारण ‘सुम्निमा पारुहाङ साँझ–२’ स्थगित भोलि अर्थात् मंसिर ७ गतेका लागि मिति तोकिएको थियो ।
हाल सुम्निमा पारुहाङको प्रतिमासहितको पार्क निर्माणका लागि डिजाइन तयार गर्नुका साथै त्यहाँ भएका जग्गा खरिद प्रक्रियाका लागि बैना भइरहेको मेयर साम्पाङले जानकारी दिएका छन् ।
मेयर साम्पाङ अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति रहेको ‘सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल’ नामको संस्था दर्ता गरेर सुम्निमा पारुहाङको प्रतिमा बनाउन मेयर साम्पाङ कम्मर कसेर लागेका छन् । कार्यपालिका बैठकले निर्णय गरेपनि सरकारको बजेटविना नै बनाउने मेयर साम्पाङले बताउँदै आएका छन् ।
यसै अभियानलाई सफल बनाउन मेयर साम्पाङ १४ दिने लामो भ्रमणमा बेलायत समेत पुगेका थिए । उनले त्यहाँबाट ५ करोड २८ लाख बढी रकम समेत ल्याएको जनाएका छन् । साम्पाङले यो अभियान बेलायतका साथै हङकङ, सिंगापुर, अमेरिकालगायतका देहरूमा रहेका विभिन्न नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढाउने योजना बनाएका छन् । तस्वीरहरूः हाम्रो कोशी आवाज









