धरानः धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गतेदेखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ ।
धरान बास्केटबल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न हुन लागेको आइतबार पत्रकार सम्मेलनमार्फत् आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा धरान उपमहानगर र आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयहरूबाट करिव १२ वटा टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेको खेलाडीहरूले सहभागिता हुन पाउनेछन् । प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता जनाउन पाउनेछन् । १० कक्षासम्मका खेलाडीहरूको हकमा भने टिमको सम्पूर्ण १२ जना खेलाडी नै समावेश गर्न पाइने कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । ।
विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
दिवंगत पूर्व बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा विगत तीन वर्षअघिदेखि धरान मेघा कलेज, बास्केटबल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता शुरू भएको हो । धरान–१८ निवासी रेवाहाङको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । १० कक्षामा अध्ययन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उनको सम्मानमा प्रतियोगिता आयोजनाको शुरुवात गरिएको सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताए । प्रतियोगिता पुस १ गते देखि ५ गतेसम्म आयोजक धरान मेघा कलेजको बास्केटल कोर्टमा सम्पन्न हुनेछ ।
प्रतियोगिताको फाइन खेल अघि थ्री पोइन्ट कम्पिटिसन हुने
प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले एक मिनेट थ्री पोइन्ट सट गर्नेछ । त्यसमध्येबाट बढी बास्केट गर्ने उत्कृष्ट तीन खेलाडी छनौट हुनेछ । फाइनल चरणमा छनौट भएकामध्येबाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट बास्केट गर्नेछ उही थ्री पोइन्ट च्याम्पियन घोषित हुनेछ । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
धरान मेघा हिमालयन कलेजको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, रेवाहाङका बुबा रेवतीरमण राई र आमा सुजता राईलगायतको उपस्थिति रहेको थियो ।