Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारीले पैसा संकलन गरेर बाँडे जाडोका न्यानो कपडा

हाम्रो कोशी आवाज
मंसिर १६ २०८१, आइतबार
धरानको विष्णु स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारीले पैसा संकलन गरेर बाँडे जाडोका न्यानो कपडा

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले विद्यार्थीलाई ‘शिक्षासँगै संस्कार’ पनि सिकाउँदै लगेको छ ।
विद्यालयको ‘शिक्षासँगै संस्कार’ कार्यक्रमअन्र्तगत आयोजित अत्यन्तै परोपकारी कार्यमा विद्यार्थी सहभागी भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । धरान–१५ स्थित दृष्टिविहीन, न्यूनदृष्टिलगायत फरक क्षमताका बालबालिकाहरूको निम्ति सञ्चालित ‘पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय’ लाई शुक्रबार विविध सहयोग सामग्री सहयोगस्वरुप प्रदान गरेको उनले जानकारी दिए ।
विद्यालयका विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निःस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले मुख्यतः यस्तो कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिकरूपमा सङ्कलित सहयोग रकमबाट ज्ञानचक्षु विद्यालयमा अध्ययनरत् ६५ विद्यार्थीहरूलाई जाडो मौसमका निम्ति ट्रयाकसुट र फलफूल बाँडिएको थियो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठ, ज्ञानचक्षु विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारी तथा विष्णु मेमोरियलका अभिभावक प्रतिनिधिका रूपमा धिरज मानन्धरसहितको उपस्थिति रहेको थियो । प्रमुख अतिथि, प्रिन्सिपल, शिक्षक, विद्यार्थी प्रतिनिधि र अभिभावक प्रतिनिधिहरूले संयुक्तरुपमा सो विद्यालयका विद्यार्थीहरूलाई सहयोग हस्तान्तरण हस्तान्तरण गरेका थिए ।
सो अवसरमा ज्ञानचक्षु विद्यालयका विद्यार्थीहरूले केही साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको सेवा र शिक्षणमा तल्लिन ज्ञानचक्षु विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो ।
दुवै विद्यालयका विद्यार्थीहरूलाई एक आपसमा अन्तरघुलनका निम्ति अन्तरक्रियासमेत गराइएको थियो । पुण्यकार्यको संयोजन शिक्षक भवानीप्रसाद खतिवडाले गरेका थिए । ‘विशेषतः विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न र असल संस्कार दिनुपर्छ भन्ने हिसाबले वर्षेनी यस्तो कार्य गर्दै आएका छौं’, प्रिन्सिपल श्रेष्ठले भने, ‘आगामी दिनमा पनि यस्तो सहयोगका कार्यक्रम जारी रहन्छ ।’
अघिल्लो वर्ष विद्यार्थीले इटहरीस्थित ‘माया घर नेपाल’ लाई सहयोग गरेको थिए । माया घरले असहाय, अशक्त तथा हिंसा पीडित र सडक मानवहरुलाई उद्दार गरेर संरक्षण गर्दै आएको छ ।
माया घरलाई सहयोग गर्न कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रुपमा रकम संकलन गरेका थिए । यसरी संकलन भएको नगद ४६ हजार ९०५ रुपैयासँगै ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा १६ जेब्रा पनि माया घरलाई हस्तान्तरण गरेका थिए ।
‘हामी धेरैजसो अभिभावकले आफ्ना नानीबाबुहरुलाई सुविधा र सुख दिने नाउँमा साँघुरिएको समाजमा जीवनको एक पाटो सुख मात्र देखाइ हुर्काइरहेका छौं, हाम्रो समाजमा कस्ता–कस्ता मानिसहरु हुन्छन्, कतिसम्म दुःख–कष्ट, पीडा भोगेका छन् र अन्त्यमा कस्तो कस्तो अवस्थासम्म पुगेर जीवनयापन गरिरहेका छन्् भन्ने कुरा फिल्डमै पुगेर हेर्दा विद्यार्थीहरूले अत्यन्तै राम्रो सिकाइ भएको अनुभव गर्न सक्छन् भन्ने हामीले सोंचेका छौं ।’ पुण्यकार्यको संयोजन शिक्षक भवानीप्रसाद खतिवडाले भने ।

प्रकाशित मिति: मंसिर १६ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend